रामेछाप । रामेछापको सुनापति गाउँपालिका–१ की अस्मिता वाइबा अहिले गाउँमै गलैँचा बुनाइको काम सिक्दै हुनुहुन्छ । वाइबा गलैँचा बुनाई तालिम लिएर दक्ष बनी घरमै केही गर्ने सोचका साथ काखे बाबुलाई लिएर गलैँचा बुनाई तालिममा सहभागी हुनुहुन्छ ।
यो तालिमबाट सिप सिकेर गाउँमै आय आर्जन गर्ने र आफ्नो छोरालाई राम्रो स्कुलमा पढाउने उहाँको सपना छ । घरको काममा मात्रै सिमीत महिलाहरुका लागि गाउँमै यस्तो सिप मूलक तालिम आएकोमा उहाँ खुसी हुनुहुन्छ ।
उहाँले भन्नुभयो ‘‘हामी जस्ता महिलाका लागि उपयुक्त ठानेर गाउँपालिका र संस्थाले गलैँचा बुनाई तालिम सञ्चालन गरेको छ । यो तालिमबाट सिप सिकेर घरमै एउटा दुई वटा तान लगाएर गलैँचा बुन्न सकिने रहेछ । यो तालिमबाट सिकेको सिपलाई प्रयोग गरी घरमै धेर थोर आम्दानी गरी बाबुलाई राम्रोसँग पढाउन सकिन्छ कि भन्ने लागेको छ ।’’
सुनापति गाउँपालिका–१ कै अर्की महिला विमला रोक्काली पनि गाउँमै गलैँचा बुनाई तालिम सञ्चालन भएकोमा धेरै खुसी हुनुहुन्छ । यो तालिमलाई उहाँले एउटा महत्त्वपूर्ण अवसरका रूपमा मानेर सहभागिता जनाइरहनु भएको छ । उहाँले भन्नुभयो ‘‘गाउँमा अन्य धेरै तालिमहरू भए । तर गलैँचा बुन्ने तालिम यस अभि आएन । अलि अगाडी नै यो तालिम सञ्चालन भइदिएको भए केही गर्न सक्ने सिप भइसक्थ्यो होला । तर ढिलै भए पनि तालिम सञ्चालन भएको छ । अब यो तालिमबाट सिप सिकेर घरमै एक दुई वटा तान लगाएर घरको काम गर्दै गलैँचा बुन्दै पनि घर चलाउन सक्ने आम्दानी गर्न सक्छु भन्ने आट आएको छ ।’’
सुनापति गाउँपालिका–१ गुन्सी भदौरेका अस्मिता र विमला जस्तै यो वडाका महिला पुरुष गरी २१ जना अहिले वडा कार्यालयमा सञ्चालित गलैँचा बुनाई तालिममा सहभागी छन् । सुनापति गाउँपालिकाको महिला सिप विकास कार्यक्रम अन्तरगतको पाँच लाख रुपैयाँ आर्थिक साझेदारीमा सामुदायिक विकास समाजको प्राविधिक तथा कृषि तालिम मार्फत रोजगारी सिर्जना तथा उद्यमशील प्रवर्द्धन परियोजना मार्फत जेठ २४ गतेदेखि भदौ १२ गते सम्म ७२ दिने यो तालिम सञ्चालन भइरहेको हो ।
सिटिइभिटीबाट मान्यता प्राप्त लेभल एक अन्तरगतको तालिम सञ्चालन भइरहेको प्रशिक्षक गुर्ण ग्याल्बो लामाले बताउनुभयो । तालिममा सहभागीहरूमा सिप सिकेर केही गर्ने इच्छाशक्ति पर्याप्त रहेको उहाँले बताउनुभयो । सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलन कुमार घिसिङले परियोजनाले स्थानीय सरकारको आवश्यक समन्वय र सहयोगमा स्थानीय स्तरमा रहेका बेरोजगार युवा र महिलाहरूको मागमा आधारित यस्ता सिप विकासका तालिमहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘‘परियोजनाले युवाहरूमा सिप विकास गरी आफै उद्यमी बन्न, आफ्नै देशमा रोजगारी गर्ने वा वैदेशिक रोजगारीमा जाने युवामा पनि आवश्यक सिप विकास गर्न यस्ता कार्यक्रमलाई जोड दिएको छ । परियोजनाले तालिम पश्चात् स्किल टेस्टमा पास भएका र राम्रो व्यावसायिक कार्य योजना बनाउने युवाहरूलाई व्यवसाय सुरु गर्न आवश्यक सामाग्रीहरू पनि सहयोग गर्दै आएको छ ।’’ प्राविधिक तथा कृषि तालिम मार्फत रोजगारी सिर्जना तथा उद्यमशील प्रवर्द्धन परियोजनाले सम्बन्धित पालिकाहरूको समन्वय तथा सहयोगमा मन्थली नगरपालिका र खाँडादेवी, सुनापति गाउँपालिकामा आत्मनिर्भर स्वास्थ्य र समतामूलक समाजको स्थापनाका लागि विभिन्न सिप विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आएको आएको उहाँले बताउनुभयो ।
सुनापति गाउँपालिका र सामुदायिक विकास समाज मन्थलीबिचको साझेदारीमा स्थानीय महिलाहरूको माग अनुसार गलैँचा बुनाई तालिम सञ्चालन गरिएको सुनापति गाउँपालिका–१ का वडा अध्यक्ष ध्रुव प्रसाद चौलागाई बताउनुहुन्छ ।
उहाँले भन्नुभयो ‘‘घरको काममा मात्रै सीमित महिलाहरूमा सिप विकास गरी प्रत्यक्ष रूपमा आय आर्जन गर्न सक्ने बनाउन तालिम सञ्चालन गरिएको हो । यो तालिम महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोगी बन्ने हामीले विश्वास लिएका छौँ । तालिम सञ्चालन पश्चात् सहभागीहरू ज–जसले जुन÷जुन तानमा बुनिरहनु भएको छ । त्यो तान उहाँहरूलाई नै हस्तान्तरण गर्ने स्थानीय सरकारको योजना छ ।’’
गाउँमै गलैँचा बुनाइ तालिम सञ्चालन भएपछि महिलाहरू उत्साहित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया