मोटरसाइकल वर्कसपबाट गाउँमै राम्रो आम्दानी

रामेछाप । पैसा कमाउन विदेश जानुको अन्य विकल्प नदेखेर दिनहुँ धेरै युवाहरू विदेशीरहँदा रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीका ल्हापसङ तामाङले भने गाउँमै राम्रो आम्दानी गरिरहनु भएको छ । तामाङको सुनापति गाउँ कार्यपालिकाको कार्यालय नजिकै न्यु सुनापति मोटरसाइकल वर्कसप सञ्चालनमा छ । सोही वर्कसपमा मोटरसाइकल मर्मतको काम गरेर ३० वर्षका तामाङले ४ जनाको परिवारको पालन पोषण सहित शिक्षा दीक्षा गरिरहनु भएको छ ।
केही समय अघिसम्म बेरोजगार रहनु भएका तामाङको आफ्नै गाउँमा केही गर्ने सोच थियो । यही सोच अनुरूप यसअघि केही वर्ष उहाँले मासु पसल पनि सञ्चालन गर्नुभएको थियो । तर मासु पसलबाट तामाङको ४ जनाको परिवार धान्न सक्ने आम्दानी भएन । आम्दानी खासै नभएपछि तामाङ मासु पसल पनि बन्द गरेर वैकल्पिक कामको खोजीमा लाग्नुभयो । गाउँघरमा धेरै गुड्ने र प्राय सबैले चढ्ने मोटरसाइकल भएकाले यसको मर्मत तालिम लिएर गाउँमा केही गर्ने सोच पलायो । यही बिचमा ढुङ्गा खोज्दा देवता भेटियो भने झैँ तामाङलाई मोटरसाइकल मर्मत तालिम बारेमा जानकारी भयो ।
त्यसपछि तामाङले सामुदायिक विकास समाज मन्थलीको प्राविधिक तथा कृषि तालिम मार्फत रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धन परियोजनाले गत भदौदेखि मङ्सिर १५ गतेसम्म सञ्चालन गरेको ३९० घण्टे सिटिइभिटी लेबल एकको तालिम लिनुभयो । सोही तालिम पश्चात् आफ्नै गाउँपालिका सुनापति गाउँपालिकाको कार्यालय नजिकै एउटा टहरा भाडामा लिएर मोटरसाइकल वर्कसप सुरु गरेको तामाङले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘‘ हातमा सीप नहुँदा चाहेर पनि केही गर्न सकिएको थिएन । यो ३९० घण्टे तालिमले मेरो जीवनको बाटो मोडिएको छ । अहिले वर्कसप राम्रो चलेको छ । दैनिक दुई हजार रुपैयाँसम्म बच्छ । यसबाट हाम्रो ४ जनाको परिवार चलेको छ ।’’
व्यवसाय सुरु गर्दा परियोजनाले एक लाख ९२ हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको र आफ्नो ८० हजार रुपैयाँ लगानी भएको उहाँले बताउनुभयो । ‘वर्कसप सुरुवाती चरणदेखि अहिलेसम्म कुनै दिन खाली हात बस्नु परेको छैन, कहिले पार्टपुर्जा फेर्न त कहिले इन्जिन मर्मतको काम आइरहन्छ । आफ्नै गाउँमा केही गर्न पाउँदा म र मेरा परिवार पनि खुसी छन्’, उहाँले भन्नुभयो ।
सुनापति गाउँपालिकाका तामाङ जस्तै यो गाउँपालिकाका १२ जनाले सिटिइभिटी लेबल एकको ३९० घण्टे तालिम पश्चात् आफ्नै गाउँमा विभिन्न व्यवसाय गरिरहेका छन् । खाँडादेवी गाउँपालिकाका १३ जना युवाहरूले पनि यो तालिम पश्चात् आफ्नै गाउँमा विभिन्न व्यवसाय सुरु गरेका छन् ।
परियोजनाले गत वर्ष सञ्चालन गरेको विभिन्न तालिमबाट सिप सिकेर अहिले खाँडादेवी र सुनापति गाउँपालिकाका २५ जना युवाहरूले व्यवसाय सुरु गरेका परियोजना संयोजक कृष्ण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गत वर्ष तालिम लिएका दुई गाउँपालिकाका गरी १० जना युवाले सिलाई–कटाई, ५ जनाले मोटरसाइकल वर्कसप र ५ जनाले ब्यूटिपार्लर व्यवसाय सञ्चालन गरिरहेका छन् । त्यसै गरी दुई जनाले इलेक्ट्रिसियन, दुई जनाले मोटर मर्मत र एक जनाले कम्युटर सम्बन्धि व्यवसाय सञ्चालन गरिरहेका छन् । यसरी व्यवसाय सुरु गरेका सबै युवाहरुलाई व्यवसायको सुरुवाती चरणमा परियोजनाले औजार, उपकरण र फर्निचरका सामाग्रीहरु सहयोग गरेको परियोजना संयोजक श्रेष्ठले बताउनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च