रामेछाप । अहिले गाउँमा युवाहरू खासै भेटिँदैनन् । कति युवाहरू राम्रो पैसा कमाएर परिवारमा खुसी दिने सपना बुनेर बिदेसिएका छन् । अध्ययनको बाहानमा धेरै पैसा कमाउनकै लागि ठुलो लगानी फसाएर बिदेसिएका छन् । जसका कारण गाउँघरमा युवा शक्तिको खडेरी जस्तै छ । गाउँमा युवाको खडेरी लाग्दा धेरे खेती योग्य जमिनहरु बाझै बस्ने क्रम पनि बढ्दै गएको छ । रोजगारीका लागि विदेश जानुको अन्य विकल्प नदेखेर दिनहुँ धेरै युवाहरू विदेशी रहँदा जिल्लाको सुनापति गाउँपालिका–५ खनियापानीका ल्हापसङ तामाङले भने गाउँमै राम्रो आम्दानी गरिरहनु भएको छ ।
तामाङको सुनापति गाउँ कार्यपालिकाको कार्यालय नजिकै न्यु सुनापति मोटरसाइकल वर्कसप सञ्चालनमा छ । सोही वर्कसपमा मोटरसाइकल मर्मतको काम गरेर ३० वर्षका तामाङले ४ जनाको परिवारको पालन पोषण सहित शिक्षा दीक्षा गरिरहनु भएको छ ।
केही समय अघिसम्म बेरोजगार रहनु भएका तामाङको आफ्नै गाउँमा केही गर्ने सोच थियो । यही सोच अनुरूप यसअघि केही वर्ष उहाँले मासु पसल पनि सञ्चालन गर्नुभएको थियो । तर मासु पसलबाट तामाङको ४ जनाको परिवार धान्न सक्ने आम्दानी भएन । आम्दानी खासै नभएपछि तामाङ मासु पसल पनि बन्द गरेर वैकल्पिक कामको खोजीमा लाग्नुभयो । गाउँघरमा धेरै गुड्ने र प्राय सबैले चढ्ने मोटरसाइकल भएकाले यसको मर्मत तालिम लिएर गाउँमा केही गर्ने सोच पलायो । यही बिचमा ढुङ्गा खोज्दा देवता भेटियो भने झैँ तामाङलाई मोटरसाइकल मर्मत तालिम बारेमा जानकारी भयो ।
त्यसपछि तामाङले सामुदायिक विकास समाज मन्थलीको प्राविधिक तथा कृषि तालिम मार्फत रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धन परियोजनाले गत भदौदेखि मङ्सिर १५ गतेसम्म सञ्चालन गरेको ३९० घण्टे सिटिइभिटी लेबल एकको तालिम लिनुभयो । सोही तालिम पश्चात् आफ्नै गाउँपालिका सुनापति गाउँपालिकाको कार्यालय नजिकै एउटा टहरा भाडामा लिएर मोटरसाइकल वर्कसप सुरु गरेको तामाङले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘‘ हातमा सीप नहुँदा चाहेर पनि केही गर्न सकिएको थिएन । यो ३९० घण्टे तालिमले मेरो जीवनको बाटो मोडिएको छ । अहिले वर्कसप राम्रो चलेको छ । दैनिक दुई हजार रुपैयाँसम्म बच्छ । यसबाट हाम्रो ४ जनाको परिवार चलेको छ ।’’
व्यवसाय सुरु गर्दा परियोजनाले एक लाख ९२ हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको र आफ्नो ८० हजार रुपैयाँ लगानी भएको उहाँले बताउनुभयो । ‘वर्कसप सुरुवाती चरणदेखि अहिलेसम्म कुनै दिन खाली हात बस्नु परेको छैन, कहिले पार्टपुर्जा फेर्न त कहिले इन्जिन मर्मतको काम आइरहन्छ । आफ्नै गाउँमा केही गर्न पाउँदा म र मेरा परिवार पनि खुसी छन्’, उहाँले भन्नुभयो ।
सुनापति गाउँपालिका–३ का ३४ वर्षका मिलन श्रेष्ठले पनि गाउँमा व्यवसाय सञ्चालन गरेर राम्रो कमाई गरिरहनु भएको छ । श्रेष्ठको पनि गाउँमा मिलन टेलर्स एन्ड प्रशिक्षण केन्द्र सञ्चालनमा छ । श्रेष्ठले पनि सुनापति गाउँपालिकासँगको समन्वय तथा साझेदारीमा प्राविधिक तथा कृषि तालिम मार्फत रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धन परियोजना मार्फत सञ्चालन भएको सिटिइभिटीको लेबल एकको ३९० घण्टे सिलाई–कटाई तालिम लिनुभएको हो ।
गाउँमै सिलाई–कटाइको काम पहिला देखिनै गरेको भए पनि त्यस बेला सिलाई सम्बन्धी पूर्ण ज्ञान नभएको र सम्बन्धित विषयमा प्रमाणपत्र पनि नहुँदा सेवाग्राहीको रोजाई अनुसारको डिजाइनहरू सिलाउन नसकेको उहाँ सम्झनुहुन्छ । अहिले तालिम पश्चात् सम्बन्धित विषयमा प्रमाणपत्र समेत भएकाले व्यवसाय पनि बढेको र गाउँपालिकाका विभिन्न ठाउँमा सिलाई–कटाई तालिमहरूमा प्रशिक्षकका रूपमा काम गर्दै आएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘‘मन्छेमा अत्यावश्यक भनेको सिप रहेछ । पहिला पनि सिलाई–कटाइको कामबाट धेर थोर कमाइ हुन्थ्यो । अहिले तालिम पश्चात् ग्राहकको माग अनुसारका डिजाइनमा काम हुँदा व्यवसाय पनि बढेको छ । पालिकाले सञ्चालन गर्ने सिलाई–कटाई तालिमहरूमा प्रशिक्षकका रूपमा पनि काम गरिरहेको छु ।’’
व्यवसाय सञ्चालन गर्न परियोजनाले व्यावसायिक योजना हेरेर एक लाख ६५ हजार रुपैयाँ बराबरको मेसिन र फर्निचर सहयोग गरेको र आफ्नो तीन लाख रुपैयाँ बढी लगानी भएको उहाँले बताउनुभयो । यो व्यवसायबाट अहिले मासिक ३५ हजार रुपैयाँ बढी आम्दानी भइरहेको उहाँले बताउनुभयो ।
सुनापति गाउँपालिकाका तामाङ र श्रेष्ठ जस्तै यो गाउँपालिकाका १२ जनाले सिटिइभिटी लेबल एकको ३९० घण्टे तालिम पश्चात् आफ्नै गाउँमा विभिन्न व्यवसाय गरिरहेका छन् । खाँडादेवी गाउँपालिकाका १३ जना युवाहरूले पनि यो तालिम पश्चात् आफ्नै गाउँमा विभिन्न व्यवसाय सुरु गरेका छन् ।
परियोजनाले गत वर्ष सञ्चालन गरेको विभिन्न तालिमबाट सिप सिकेर अहिले खाँडादेवी र सुनापति गाउँपालिकाका २५ जना युवाहरूले व्यवसाय सुरु गरेका परियोजना संयोजक कृष्ण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘युवाहरूमा सीपको विकास गरी आत्मनिर्भर,स्वास्थ र समतामूलक समाज स्थापन गर्ने हाम्रो उद्देश्य हो । सोही उद्देश्यले गत वर्ष सञ्चालित तालिमबाट दक्ष बनेका २५ जना युवाहरूले आफ्नै ठाउँमा व्यवसाय सुरु गरेका छन् । अहिलेसम्म सबै व्यवसाय राम्रो चलेका छन् । सबै युवाहरू कमाउन विदेश गइरहँदा आफ्नै गाउँमा परिवारसँग बसेर धेर थोर कमाउनु राम्रो कुरा हो ।’’
उहाँका अनुसार गत वर्ष तालिम लिएका दुई गाउँपालिकाका गरी १० जना युवाले सिलाई–कटाई, ५ जनाले मोटरसाइकल वर्कसप र ५ जनाले ब्यूटिपार्लर व्यवसाय सञ्चालन गरिरहेका छन् । त्यसै गरी दुई जनाले इलेक्ट्रिसियन, दुई जनाले मोटर मर्मत र एक जनाले कम्युटर सम्बन्धि व्यवसाय सञ्चालन गरिरहेका छन् । यसरी व्यवसाय सुरु गरेका सबै युवाहरुलाई व्यवसायको सुरुवाती चरणमा परियोजनाले औजार, उपकरण र फर्निचरका सामाग्रीहरु सहयोग गरेको परियोजना संयोजक श्रेष्ठले बताउनुभयो ।
परिवारसँग रमाउँदै, गाउँमै कमाउँदै र जमाउँदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
ताजा समाचार
धेरै कमेन्ट गरिएका
1 Comment
1 Comment
1 Comment
1 Comment
1 Comment
ट्रेन्डिङ
१
२
३
४
५
६
७
८
प्रतिक्रिया