मन्थली नगरपालिकाको नीति कार्यक्रम र बजेट सार्वजनिक, २ करोड ५७ लाख रुपैयाँ बढी बजेट घट्यो

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरले दिगो र गतिशील अर्थतन्त्र मार्फत नगरको आर्थिक वृद्धि हासिल गर्ने, पूर्वाधार विकास मार्फत स्वरोजगार र नागरिक कल्याणकारी कार्य गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी र सिँचाई मार्फत नगरलाई आत्मनिर्भर अर्थतन्त्र उन्मुख गराउने उद्देश्यका साथ नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरले सुशासन प्रवर्द्धन र आधारभूत सेवाको परिचालन गर्ने र आन्तरिक राजश्व क्षेत्रको पहिचान र परिचालन गरी सक्षम र दिगो आर्थिक स्रोतको विकास गर्ने नीति तथा कार्यक्रम लक्ष्य लिएको छ ।
बुधवार भएको नगर सभाको १५ औँ नगर अधिवेशनमा नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि एक अर्ब एक करोड ९७ लाख ८१ हजार रुपैयाँ बजेट प्रस्तुत गर्नुभयो । यो बजेट चालु आर्थिक वर्ष २०८०÷०८१ को भन्दा दुई करोड ५७ लाख ११ हजार ८३७ हजार रुपैयाँले कमी हो । उपप्रमुख बस्नेतले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा चालु तर्फ (६८.९९) प्रतिशत अर्थात् ७० करोड ३५ लाख १० हजार रुपैयाँ र पुँजीगत तर्फ (३१.०१) प्रतिशत अर्थात् ३१ करोड ६२ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको उल्लेख छ । बजेट वक्तव्यमा आगामी वर्ष आन्तरिक स्रोतबाट तीन करोड ९१ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
अधिवेशनमा नगर प्रमुख लव श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षमा नगर सभाबाट स्वीकृत भएका साना ठुला गरी ४४८ वटा योजना तथा कार्यक्रम रहेकोमा ४२६ वटा योजनाहरू सम्झौता भई ३२४ वटा योजनाको काम सम्पन्न भएर भुक्तानी भइसकेको उल्लेख छ ।
नगरको राजश्व सङ्कलन र परिचालनका क्षेत्रमा बढी राजश्व सङ्कलन गर्ने वडाहरूलाई प्रोत्साहित गर्न वडागत बजेट सिलिङ निर्धारण गर्दा वडाले सङ्कलन गरेका राजश्व रकमलाई समेत आधारका रूपमा लिने व्यवस्थालाई निरन्तरता दिने सहित ११ वटा कार्यक्रमहरू सञ्चालन हुने उल्लेख छ ।
त्यसै गरी कृषि विकास तथा पशु सेवाको क्षेत्रमा एक वडा एक उत्पादन पकेट कार्यक्रम मार्फत व्यावसायिक खेतीलाई प्रोत्साहन गरी कृषि उपजको बिक्रीमा आधारित अनुदान र कृषि एम्बुलेन्स सहित बजारीकरणको व्यवस्थाको पहल गर्ने लगायत विभिन्न १५ वटा कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख छ ।
सहकारी क्षेत्रको विकास तथा व्यवस्थापनका लागि नियमित नभएका सहकारी संस्थाहरूलाई तत्काल खारेजी प्रक्रियामा लाने लगायतका ४ वटा नीति तथा कार्यक्रम उल्लेख छन् । रोजगार प्रवर्द्धन तर्फ वैदेशिक रोजगारी सम्बन्धी सूचना तथा परामर्श प्रदान गर्न रोजगार सूचना केन्द्रलाई थप प्रभावकारी बनाउने लगायत तीन वटा , पर्यटन तर्फ नगरभित्रका पर्यटकीय ब्रान्ड÷गन्तव्य स्थलहरूको पहिचान, संरक्षण र संवर्द्धन गरी पर्यटकीय विकासमा जोड दिने लगायतका तीन वटा कार्यक्रमहरू समावेश गरिएको उल्लेख छ ।
शिक्षा तर्फ माध्यमिक तह घटुवा भई अध्ययनरत विद्यार्थीहरूलाई शिक्षाको मूल प्रवाहबाट बाहिर रहनुपर्ने अवस्था सिर्जना भएमा नजिकैको माध्यमिक विद्यालयमा अध्ययन गर्नका लागि आवासको व्यवस्था गर्ने लगायतका १३ वटा कार्यक्रमहरू रहेको प्रस्तुत नीति तथा कार्यक्रममा समावेश छ । स्वास्थ्य क्षेत्रमा सुत्केरीसँग उपप्रमुख, छोरी जन्मलाई प्रोत्साहन, किशोरीसँग नर्स, विद्यार्थीसँग स्वास्थ्यकर्मी तथा ज्येष्ठ नागरिकसँग घरदैलोमा स्वास्थ्यकर्मी लगायतका नौ वटा कार्यक्रम सञ्चालन हुने नीति तथा कार्यक्रममा उल्लेख । पूर्वाधार विकासका क्षेत्रमा नगर वडा साझेदारी विकास निर्माणमा बराबरी नीतिलाई निरन्तरता दिँदै हरेक वडाबाट प्रस्ताव भएका २० लाख भन्दा माथिका एक ठुला पूर्वाधार आयोजनालाई नगरबाट २० लाख रुपैयाँ थप गर्ने, सरोकारवाला निकायसँग समन्वय गरी नगरपालिमा प्रयोगशाला स्थापना गर्ने लगायतका विभिन्न ६ वटा योजनाहरू नगर प्रमुख श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छन् ।

 

Advertisement

 

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च