रामेछाप । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रामेछापका ५९.५६ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले विहीबार सार्वजानिक गरेको नतिजा अनुसार रामेछापबाट एसइई परीक्षामा सहभागि ४०.४४ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् ।
रामेछाप जिल्लाबाट यस वर्षको एसइई परीक्षामा कूल २ हजार ६१६ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा ४०.४४ प्रतिशत अर्थात् एक हजार ५८ जना मात्रै उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलले बताउनुभयो । परीक्षामा भाग लिएका कूल विद्यार्थीको ५९.५६ प्रतिशत अर्थात् एक हजार ५५८ विद्यार्थी नन ग्रेड (अनुत्तीर्ण) भएका उहाँले बताउनुभयो ।
Advertisement
उहाँका अनुसार परीक्षामा ७६ जनाले ३.६१ देखि ४ जिपिएसम्म प्राप्त गरेका छन् । जिल्लाको मन्थली माविका छात्र सुबोध ढुङ्गेलले ४ जिपिए प्राप्त गर्नुभएको छ । त्यस्तै जिल्लाभरका १९० जनाले ३.२१ देखि ३.६० जिपिएसम्म प्राप्त गरेका छन् । यसै गरी ३८१ जनाले २.८१ देखि ३.२० जिपिएसम्म पाएका छन् । यसै गरी २.४१ देखि २.८० जिपिएसम्म प्राप्त गर्नेको सङ्ख्या ३८७ रहेको छ ।
२ देखि २.४० जिपिए पाउनेको सङ्ख्या भने २४ जना रहेको छ । त्यस्तै एउटा विद्यालयका विद्यार्थीको प्राक्टिकल मार्क चढाउन परीक्षा बोर्डले त्रुटि गरेको पाइएको छ । डहु मावि बेथानका विद्यार्थीको कम्प्युटर विषयको ५० प्रतिशत प्राक्टिकल मार्क चढाउनु पर्नेमा जम्मा २५ प्रतिशत मार्क मात्र चढाएको पाइएको छ । सो विद्यालयका २६ जना विद्यार्थी मध्ये एक जना परीक्षामा अनुपस्थित भएका थिए ।
Advertisement
बाँकी २५ जना विद्यार्थीको कम्प्युटर विषयको २५ प्रतिशत नम्बर छुटेको पाइएको छ । विद्यालयले ५० प्रतिशत नै नम्बर पठाएको, शिक्षा विकास तथा समन्वय इकाईबाट पनि सोही नम्बर पठाएको भए पनि परीक्षा बोर्डमा इन्ट्री गर्ने बेलो सो नम्बर छुटेको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख गजुरेलले बताउनुभयो । जिल्लाको नमुना माध्यमिक विद्यालयको रूपमा रहेको सो विद्यालयका विद्यार्थीको २५ प्रतिशत प्राक्टिकल मार्क छुट्दा पनि सबै विद्यार्थीले ३ जिपिए भन्दा माथिको रिजल्ट ल्याएका छन् । एउटा विषयको २५ प्रतिशत अङ्क नपाउँदा पनि एक जना विद्यार्थीले ३.८८ अङ्क ल्याएका छन् । चार जना विद्यार्थीले ३.८६ जिपिए प्राप्त गरेका छन् ।
प्रतिक्रिया