रामेछाप । रामेछाप जिल्लामा ६ महिनाको अवधिमा १९ जना महिला तथा बालबालिका हराएका पाइएको छ । सन २०२४ को जनवरीदेखि जुन महिनासम्मको अवधिमा जिल्लाबाट २० जना महिला तथा बालबालिका र एक जना बालक हराएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो ।
शुक्रवार रामेछाप सदरमुकाम मन्थलीमा मानव अधिकार संरक्षण सञ्जालसँगको समन्वयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको सन २०२४ को पहिलो ६ महिनाको रामेछाप जिल्लामा मानव अधिकार समीक्षा कार्यक्रममा प्रहरी निरीक्षक न्यौपाने यसबारेमा जानकारी दिनुभएको हो ।
Advertisement
उहाँले यो अवधिमा १७ जना महिला हराएकोमा १२ जना महिला फेला परेको बताउनुभयो । त्यसै गरी २ जना बालिका हराएकोमा एक जना फेला परेको र एक जना अझै हराइरहेको बताउनुभयो । यो अवधिमा एक जना बालक हराएकोमा फेला परिसकेको प्रहरी निरीक्षक न्यौपानेले बताउनुभयो । उहाँका अनुसार हराएको भनी प्रहरीमा आएका पाँच जना महिला र एक जना बालिका अझै फेला परेको छैनन् ।
यो ६ महिनाको अवधिमा रामेछाप जिल्लाभर ९ वटा घरेलु हिंसाका घटना प्रहरीमा आएको प्रहरी निरीक्षक न्यौपानेले बताउनुभयो । उहाँका अनुसार यो अवधिसम्म जिल्लाको मन्थली नगरपालिकाबाट तीन वटा, रामेछाप नगरपालिकाबाट २ वटा, गोकुलगंगा गाउँपालिकाबाट एउटा, उमाकुण्ड गाउँपालिकाबाट २ वटा र खाँडादेवी गाउँपालिकाबाट एउटा घरेलु हिंसा सम्बन्धी निवेदन प्रहरीमा आएका छन्।
Advertisement
मानव अधिकार संरक्षण सञ्जाल रामेछापका अध्यक्ष पाण्डव प्रसाईँको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक रामेछापका प्रतिनिधि नवराज पथिकले इन्सेकको तर्फबाट रामेछापका मानव अधिकारको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया