वैदेशिक रोजगारीबाट फर्किएर ३५ रोपनी जमिनमा कागती खेती

रामेछाप । आफ्नो देशमा रोजगारी नपाएर अर्काको देशमा श्रम गर्न जाने युवा बढ्दो मात्रामा छ । जसका कारण गाउँमा युवा शक्तिको खडेरी लागेको छ । गाउँ घरमा अहिले वृद्ध वृद्धा अवस्थाका बाहेक युवा शक्तिहरू खासै भेटिँदैनन् ।

आफ्नै देशमा रहेका युवाहरू पनि छोरा छोरीलाई राम्रो शिक्षा दिन सहर केन्द्रित भएका छन् । गाउँमा युवा शक्तिको खडेरीले पुर्खाहरूले मनग्य अनाज तथा तरकारी जन्य कुराहरू उत्पादन गरेको गाउँका खेती योग्य जमिनहरू लामो समय बाझै बस्दा खण्डहर बनिरहेका छन्।

Advertisement

वैदेशिकको रोजगारीले गाउँ घरमा युवा शक्ति रित्तिँदै गएको बेला रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका ३५ वर्षीय भरत कार्कीले भने गाउँमै कागतीको व्यवसायीक खेती गर्नुभएको छ । पाँच वर्ष साउदी अरबमा रोजगारी गरेर फर्किएपछि कार्की विगत पाँच वर्षदेखि कागती खेतीमा हुनुहुन्छ ।
कार्कीले अहिले कागती खेतीबाट आफ्नो जीवनमा परिवर्तन ल्याउने सोचका साथ आफ्नो गाउँको ३५ रोपनी पाखो बारीमा कागती लगाउनुभएको छ । उहाँले पाँच वर्ष अगाडी लगाएको कागतीको बगैँचामा पुग्ने जो कोहीलाई अहिले मन लोभ्याउने मात्रै होइन गरे के हुँदैन र भन्ने आभास हुन्छ ।

गत वर्ष थोरै मात्रै फलेको कागती यो वर्षबाट भने राम्रो फल्न थालेको कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो‘‘अहिले ३५ रोपनी बगैँचामा एक हजार भन्दा बढी कागतीका बोटहरू छन् । ती सबै बोटमा यो वर्षबाट राम्रो कागती फल्न थालेको छ । हिजो यस्तो सुख्खा ठाउँमा केही हुँदैन भन्नेहरू आज कागतीको बगैँचा देखेर लोभिएका छन् ।’’

Advertisement

काम गर्ने युवा शक्तिको अभाव र बाँदर लगायतका जङ्गली जनावरका कारणले ग्रामीण भेगका धेरै खेत बारीहरू लामो समयदेखि बाँझै छन् । तर यो कागतीलाई धेरै मेहनत पनि गर्न नपर्ने र जङ्गली जनावरले पनि कुनै असर नगर्ने कार्की बताउनुहुन्छ । यो वर्ष कागती राम्रो फलेकाले एउटा बोटबाट कम्तीमा २० किलो कागती फल्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

अहिले कम गुणस्तरका धेरै कागती रामेछाप आयात भइरहेकाले अब अन्य कृषकहरूलाई पनि कागती खेतीमा आकर्षण बढाएर सिङ्गो जिल्लालाई कागतीमा आत्मनिर्भर जिल्ला बनाउने अभियान आफ्नो रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो‘‘ अहिले कम गुणस्तरका कागती तराई क्षेत्रबाट जिल्लामा आयात भइरहेको छ । यस्ता कागतीको स्वाद पनि खासै हुँदैन भन्ने गुनासो सुनिन्छ । अब धेरै भन्दा धेरै कृषकहरूलाई कागती खेतीमा आकर्षण बढाएर सिङ्गो जिल्लालाई नै कागतीमा आत्मनिर्भर बनाउने मेरो अभियान पनि हो ।’’
अति सुख्खा ग्रस्त मन्थली नगरपालिका–५ सुनारपानीको भ्याकुरेमा बाझो बसेको पाखो बारीमा पाँच वर्षदेखि गरिएको कागती खेतीमा अहिलेसम्म २५ लाख रुपैयाँ भन्दा बढी लगानी भइसकेको उहाँले बताउनुभयो । यस बाहेक स्थानीय सरकार लगायत अन्य विभिन्न सरकारी निकायबाट तीन लाख रुपैयाँ अनुदानबाट कागती बगैँचामा सिँचाइ पोखरी निर्माण गरिएको उहाँले बताउनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च