रामेछाप । रामेछापको मन्थली नगरपालिकाले नगरका पर्यटकीय गन्तव्यहरूको प्रचार तथा मन्थली विमानस्थलको नियमित सञ्चालनको पहलका लागि बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले राजधानी काठमाडौँमा पहिलो पटक नगरको पर्यटन विकास र मन्थली विमानस्थलको स्थायित्वका लागि अन्तरक्रियात्मक छलफल आयोजना गरेको हो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पर्यटन विकासका लागि चासो राखेर तीनै तहका सरकारका प्रतिनिधि तथा सरोकारवालासहित छलफल गर्नु राम्रो काम भएको बताए । उनले रामेछाप जिल्ला पर्यटनको लागि सम्भावना भएको जिल्लाका रूपमा रहेको बताउँदै पर्यटकीय पूर्वाधार विकासमा सरकारका तर्फबाट आवश्यक सहजीकरणको प्रतिबद्धता जनाए ।
Advertisement
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले रामेछापको पर्यटन विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँदै रामेछाप र मन्थलीको पर्यटन विकासका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सबै सहयोग हुने प्रतिबद्धता जनाए ।
बागमती प्रदेशको उद्योग तथा पर्यटन समितिका सभापति आनन्द कुमार श्रेष्ठले पर्यटन क्षेत्रलाई सरकारले आर्थिक उपार्जनको महत्त्वपूर्णका क्षेत्रका रूपमा राखेकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर मन्थलीसहित समग्र रामेछापको पर्यटन क्षेत्र विकास गर्न सकिने बताएका छन् । उनले रामेछापको मन्थली विमानस्थललाई बाह्रै महिना सञ्चालन गर्नका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने समेत प्रतिबद्धता जनाएका छन् । हाल पर्यटकीय सिजनमा मात्रै मन्थली विमानस्थलबाट लुक्लाको उडान भइरहेको र यसबाट पनि मन्थलीले अपेक्षित लाभ पाउन नसकिरहेको भन्दै उनले मन्थली विमानस्थलको स्थायित्वका लागि पहल गर्ने बताएका हुन् ।
सँगै, गर्मी भएको र आवश्यक होटेल पूर्वाधारको अभाव रहेको कारण मन्थलीमा पर्यटक राख्न नसकिएको भन्ने पर्यटन व्यवसायीको भनाइमा पूर्ण सहमत हुन नसकिने बताउँदै रामेछापका स्थानीयसमेत रहेका सांसद श्रेष्ठले मन्थलीमा होटेल पूर्वाधारसहित विमानस्थलमा समेत एसीको व्यवस्था भएको जानकारी गराए ।
Advertisement
उनले भने, ‘गर्मीबाट पर्यटक भगाउनुपर्ने अवस्था छैन, मन्थलीका होटेलमा १५० बढी एसीसहितका कोठाहरू छन्, विमानस्थलमा पनि एसी राखिएको छ । होटलहरु केही अव्यवस्थित भए पनि पर्यटक राख्नै नसकिने भन्ने होइन ।’
यस्तै, बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईँले एकै पटक सबै सम्भव नहुने भए पनि मन्थली नगरपालिकाले कम्तीमा छलफल र प्रचार सुरु गरेकाले आगामी दिनमा समग्र रामेछापकै पर्यटन विकासका लागि सहयोग पुग्ने बताएका छन् । उनले बी.पी. कोइरालाको जन्मस्थान सिन्धुलीको दुम्जा र पुष्पलाल श्रेष्ठको जन्मस्थान रामेछापको भँगेरीलाई जोडेर ‘बी.पी.–पुष्पलाल पर्यटन कोरिडोर’ बनाउन सकिने बताए । साथै, १० वर्षे जनयुद्धका चर्चित स्थान दोरम्बा र बेथानलाई जोडेर पनि पर्यटन विकास गर्न सकिने उनको भनाइ छ ।
‘मान्छेहरू आज पनि कार्ल मार्स्कको घर अगाडी पुगेर फोटो खिचिरहेका हुन्छन्, माओ र लेलिनका जन्मस्थानमा पुगिरहेका छन्, हामीसँग पनि नेपाली लोकतान्त्रिक आन्दोलनका अगुवाहरू बी.पी. र पुष्पलालको जन्मस्थान नजिकै दूरीमा छन्, बेथान र दोरम्बा जनयुद्धका चर्चित ठाउँहरू प्नि छन्, यीनलाई अन्तर जिल्ला र अन्तर पालिका जोडेर पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ’ सांसद चौलागाईँले भने, ‘सँगै, हामीले अब तामाकोशी, सुनकोशी र लिखुलाई सैलुङ र ताबेसँग जोडेर हेर्नुपर्छ । साथै, चिसापानी हिले जात्रा नेपालकै प्राचीन र मौलिक जात्रा हामीसँग छ, माझी र हायु समुदायका संस्कृति, सभ्यता र संस्कारलाई पनि पर्यटनसँग जोड्ने गरी योजना बनाएर अगाडी जानुपर्नेछ ।’
अर्का प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठले पर्यटन विकासका लागि स्थानीय उत्पादनको ब्राण्डिङ गर्नुपर्ने र यसका लागि स्थानीय तहहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । किवी, जुनार लगायतका फलफूलका लागि रामेछाप प्रसिद्ध रहेको भन्दै यस्ता फलफूल प्रशोधन गरेर फरक फरक उत्पादन दिन सकिने र यसो गर्दा पर्यटनसँगै समृद्धि हासिल हुने उनको भनाइ छ । सांसद श्रेष्ठले जहाज प्लेन मात्रै सबै कुरा नभएकाले मन्थली विमानस्थल नचल्दा पनि पर्यटक आउने वातावरण बनाउनुपर्ने बताए ।
Advertisement
अर्की सांसद माया कार्कीले मन्थलीमा केही पनि छैन भन्ने कुरा गलत भएको बताउँदै स्तरीयतामा केही कमजोरी हुन सक्ने भए पनि होटेल तथा अन्य पूर्वाधारहरू तुलनात्मक रूपमा राम्रो भएको बताएकी छिन् । मन्थली नगरपालिकाकी पूर्व उपमेयरसमेत रहेका उनले मन्थली बजार लगायतका आसपासका क्षेत्र विभिन्न परियोजनाको डुबान क्षेत्रमा पर्ने हल्लाले पनि लगानीकर्ता निरुत्साहित भइरहेको बताउँदै यस्ता हल्लाहरूलाई चिरेर लगानीकर्तालाई आकर्षण गर्नुपर्ने बताएकी छिन् ।
पूर्व मन्त्री कमल चौलागाईँले पर्यटन विकाश लागि पर्यटनमैत्री वातावरणको निर्माण र पर्यटकीय गन्तव्यहरूको पहिचान गरी तिनको प्रचार गर्नुपर्ने बताएका छन् । उनले स्थानीय तहले यसतर्फ ध्यान दिन सके आन्तरिक र बाह्य पर्यटकहरू बढ्न सक्ने बताएका छन् । सँगै, समग्र तामाकोशी जलाधार क्षेत्रको समृद्धिको बाहकका रूपमा लिइएको लामा बगर–बर्दिबास सडक मार्ग मन्थली हुँदै जाने भएकाले यसका लागि रामेछाप र दोलखाले संयुक्त रूपमा काम गर्न जरुरी रहेको पनि उनको भनाइ छ ।
पूर्व मन्त्री श्यामकुमार श्रेष्ठले रामेछाप र मन्थलीमा केही पनि छैन भन्ने गलत भाष्य निर्माण गरिएको भन्दै यसलाई चिर्न आवश्यक रहेको बताए । उनले मन्थलीसहित रामेछाप जिल्लामा नै धेरै कुरा भएको र धेरै सम्भावना पनि भएकाले केही व्यवस्थित हुन नसकेको भए त्यसलाई सुधार गर्दै जान सकिने बताए । उनले पनि सिन्धुलीको दुम्जा र रामेछापको भँगेरीलाई जोडेर पर्यटन विकास गर्न सकिने सम्भावना रहेको बताएका छन् ।
रामेछापबाट २ पटक प्रतिनिधिसभा सदस्य बनेका श्रेष्ठले हाल जिल्लामा भौतिक पूर्वाधारको क्षेत्रमा विकास भइरहे पनि पर्याप्त नभएको र थप लगनशीलताका साथ राजनीतिक नेतृत्वहरुले काम गर्न आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठले मन्थली विमानस्थललाई नियमित सञ्चालनका लागि मन्त्रिपरिषद् वा सम्बन्धित निकायबाट निर्णय गराउन पहल भइरहेको र यसका लागि साथ दिन सबै राजनीतिक दलका प्रतिनिधिसहित व्यवसायीहरूलाई आग्रह गरेका छन् । उनले मन्थली विमानस्थल बाह्रै महिना चल्छ भन्ने ग्यारेन्टी भएको अवस्थामा आन्तरिक लगानी बढाउँदै जिल्ला बाहिरका लगानीकर्तालाई समेत आकर्षण गर्न सकिने भएकाले नगरको पहिलो बटम लाइन नै मन्थली विमानस्थलको स्थायित्व भएको बताए ।
साथै, मेयर श्रेष्ठले नगरका पर्यटकीय गन्तव्यहरूको पहिचान गर्दै, पूर्वाधारको विकास गर्दै र तिनको प्रचारप्रसार गर्दै जाने योजना बनाएको जानकारी गराउँदै स्थानीय तहले गर्न सक्ने जति सबै पहल गर्न नगरपालिका तयार रहेको बताएका छन् ।
सहभागीहरू पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल), टानका अध्यक्ष नीलहरि बास्तोला, पर्यटन बोर्डका पूर्व सदस्य राजेन्द्र सापकोटा, पाटा नेपाल च्याप्टरकी सदस्यसमेत रहेकी पर्यटन व्यवसायी सरिता लामा, नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुर राज पाण्डे, होटेल तथा पर्यटन व्यवसायी सङ्घ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल र वायुसेवा सञ्चालक सङ्घका कार्यकारी निर्देशक राधाकृष्ण थापा लगायतले मन्थली विमानस्थलको स्थायित्वका लागि पहल गर्न सबै राजनीतिक दल र सरोकारवाललाई आग्रह गरेका छन् । राज्यले पूर्वाधार बनाएपछि निजी क्षेत्रले लगानी गर्ने भएकाले निजी क्षेत्रलाई लगानीको प्रतिफल प्राप्त हुन्छ भनेर आकर्षित गर्नुपर्ने उनीहरूको भनाइ छ ।
उनीहरू सबैको भनाइको आशय छ, ‘पर्यटन क्षेत्रमा निजी क्षेत्रको मात्रै लगानी छ, मन्थलीमा पनि लगानी गर्न व्यवसायीहरू इच्छुक छन्, तर प्रतिफलको सुनिश्चितता नदेखी लगानी गर्ने कुरा आउँदैन । यस कारण मन्थली विमानस्थल नियमित सञ्चालनको नीतिगत निर्णय भएको खण्डमा निजी क्षेत्र लगानीका लागि तयार छ ।’
प्रतिक्रिया