रामेछापको भिरपानीमा लिफ्ट सिँचाइ आयोजनाको काम अन्तिम चरणमा

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ भीरपानी स्थित घोर्माफाँट लिफ्ट सिँचाइ योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । घोर्माफाँटमा आदिवासी अल्पसङ्ख्यक माझी समुदायको बसोबास छ । नजिक सुनकोशीको अथाह जलप्रवाह भए पनि घोर्माफाँट भने सुक्खा छ ।
माझी समुदायको ठुलो र सम्म फाट रहेको घोर्माफाँटमा सिँचाइ सुविधा नहुँदा स्थानीयले आकाशे पानीकै भर पर्नुपर्ने अवस्था छ । अहिले लिफ्ट सिचाई योजनाको काम अन्तिम चरणमा पुगेपछि यहाँका स्थानीयहरू खुसी भएका छन् । घोर्माफाँटमा सिँचाइ गर्न सुनकोसी साना सोलार लिफ्ट सिचाई योजनाको काम अन्तिम चरणमा पुगेको छ ।
यो आर्थिक वर्षभित्रै योजनाको काम सम्पन्न गर्ने गरी लागेको भए पनि काम पूरा हुन नसेको खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्कर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘घोर्माफाँट राम्रो उत्पादन हुने जमिन हो । नजिकै सुनकोशी बगिरहेको भए पनि यहाँ सिँचाइको समस्या छ । घोर्माफाँटमा सिँचाइ सुविधा पुगेपछि माझी समुदायले तरकारी तथा अन्य अन्नबालीबाट पनि राम्रो आम्दानी लिन सक्ने अपेक्षा सहित लिफ्ट सिचाई योजनाको काम भइरहेको छ । यही असारसम्म आयोजनाको काम सक्ने लक्ष्य लिएको भए पनि विभिन्न कारणले काम सकिएन ।’’
वाग्मती प्रदेश सरकारको २५ लाख रुपैयाँ अनुदान र खाँडादेवी गाउँपालिकाको १७ लाख रुपैयाँ गरी ४२ लाख रुपैयाँ लगानी रहेको लिफ्ट सिचाई योजना आउने साउन महिनासम्म सम्पन्न हुने गरी काम भइरहेको वडा अध्यक्ष कार्कीले बताउनुभयो । यो लिफ्ट सिचाई योजनामा सोलार र बिजुली दुवै सिस्टमबाट पानी तान्न मिल्ने गरी निर्माण गरिएको उहाँले बताउनुभयो । ४२ लाख रुपैयाँ बजेटले आयोजनाको अन्य सबै काम गर्न पुग्ने भए पनि किसानको खेतमा पानी वितरण गर्ने कुलोमा प्रयोग गर्ने करिब १० लाख रुपैयाँको पाइपका लागि बजेट अभाव देखिएको उहाँको भनाइ छ । यो आयोजना निर्माण पश्चात् घोर्माफाँटको १५० रोपनी भन्दा बढी जमिन सिञ्चित हुने उहाँले बताउनुभयो ।
घोर्माफाँटमा सिचाई सुविधा पु¥याउन सोलार पम्पबाट पानी तान्ने गरी सुनकोसी साना सोलार लिफ्ट सिचाई आयोजना सञ्चालन गरिएको खाँडादेवी गाउँपालिकाका इन्जिनियर रामचन्द्र ढुङ्गेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘नदीको पानी ५० मिटर माथि तानी ७५ हजार लिटर क्षमताको ट्याङ्कीमा जम्मा गरेर पाइपबाट किसानको खेतमा सिँचाइ गर्ने योजना छ । सोलारबाट पानी तानिले भएकोले निर्माणको समयमा केही खर्च लागे पनि पछि योजना कम खर्चिलो हुन्छ ।’’ आयोजनामा ७५ हजार लिटरको ट्याङ्की एक घण्टामा भरिने क्षमताका पम्प राखिएको इन्जिनियर ढुङ्गेलले बताउनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च