काठमाण्डौ, भारतको बाल्मिकी नहरमा दुई जना पुरूषको शव फेला परेको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले त्रिशुलीमा बगाएको बसमा सवार व्यक्तिहरूको खोजी गर्ने क्रममा दुई जनाको शव फेला परेको हो।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार पूर्वी नवलपरासीको त्रिवेणीबाट भारततर्फ बाल्मिकी नहरमा दुई जनाको शव फेला परेको हो। उक्त नहरलाई गण्डक नहर पनि भनिन्छ।
शव फेला परे पनि दुई जना त्यही दुई वटा बसमा सवार थिए÷थिएनन् भन्ने सनाखत हुन बाँकी छ। सहजीकरण तथा समन्वयका लागि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सात जनाको टोली खटाइएको छ।
अहिलेसम्म उक्त पहिरो र दुर्घटनामा परी नदीमा फेला परेका पाँच जनाको सनाखत भएको छ।
आइतबार थप एक जनाको शव भरतपुर महानगरपालिका–२६ सिसुवारस्थित नारायणी किनारमा फेला परेको थियो। यद्यपि उक्त शवको पनि सनाखत हुन बाँकी छ।
शुक्रबार बिहान साढे ३ बजे गौर जाँदै गरेको गणपति यातायातको प्रदेश ०३– ००१ ख २४९५ नम्बरको बसमा टिकट काटेका र चलानमा उल्लेख भएका २७ जना र आफन्त सम्पर्कमा आएर जानकारी गराएको ११ जना गरी ३८ जना थिए।
वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एन्जल डिलक्सको बसमा चलानबमोजिम २३ यात्रु र आफन्तले जानकारी गराएबमोजिम थप चार जना गरी २७ यात्रु रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।
Advertisement
दुई बसमा गरी ६५ जनामध्ये तीन जना हामफालेर बाँचेका थिए।
भारतीय नागरिक ऋषि पाल साह, माडी–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको बरहथवा नगरपालिका–३ बस्ने १९ वर्षीय रमित कुशर माझी, भारतको विहार राज्य बेतिया जिल्लाका ४० वर्षीय सज्जाद अन्सारी र भारतको बिहार पश्चिम चम्पारण बेतियाथाना बस्ने ३० वर्षीय जयप्रकाश ठाकुरको शव फेला परेको हो।
प्रतिक्रिया