रामेछाप । प्रहरी राज्यको सुरक्षा प्रदायक निकाय हो । सार्वजनिक विश्वास र सहयोग, कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी जनता र सम्पत्तिको रक्षा गर्ने प्रमुख कार्य प्रहरी सङ्गठनको हो ।
राज्यद्वारा प्रदान गरिने सार्वजनिक सुरक्षाका सन्दर्भमा प्रहरी सधैँ अग्रपंतीमा रहँदै आएको छ । रामेछाप जिल्लामा पछिल्लो समय आफ्ना नियमित कामसँगै सरसफाइ र वातावरण संरक्षणका क्षेत्रमा पनि प्रहरीको सक्रियता देखिएको छ ।
जिल्लामा सञ्चालन हुने वृक्षारोपण कार्यक्रम देखि सरसफाइ कार्यक्रमहरूमा पनि प्रहरीको सक्रियता बढेको छ । पछिल्लो समय रामेछाप प्रहरी सदरमुकाम मन्थली क्षेत्रको सरसफाइमा जुटेको छ । मन्थली बजार सरसफाइका लागि जिल्ला प्रहरी कार्यालय रामेछापले सरसफाइ अभियान नै सञ्चालन गरिरहेको छ । प्रहरीले प्रत्येक हप्ताको शुक्रवार एक घण्टा सदरमुकाम मन्थली बजार क्षेत्रको सरसफाइ गर्दै आएको छ ।
प्रहरीले साप्ताहिक सरसफाइ कार्यक्रमको दोस्रो हप्ता आज (शुक्रवार) जिल्ला प्रहरी कार्यालयबाट मालपोत कार्यालय, रेडक्रस लाइन हुँदै देवकोटा चोक सडक खण्डको सरसफाइ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहको नेतृत्वमा सरसफाइमा निस्किएको प्रहरी टोलीले सडकमा जथाभाबी फालिएका फोहोर मैलाको व्यवस्थापनसँगै आफ्नो व्यवसाय अगाडी फोहोर राख्ने डस्बीन अनिवार्य राख्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ ।
यस अघि गत शुक्रवार जिल्ला प्रहरी कार्यालय रामेछापको मूल गेट देखी ओम शान्ति चोक हुँदै मन्थली बसपार्क सम्म सवारी आवागमनलाई अवरोध सिर्जना गर्ने रुख बिरुवा तथा झाडीहरू फडानी तथा सडक बाटोमा रहेको मानव निर्मित फोहोरहरूको व्यवस्थापन गरेको थियो । साप्ताहिक सरसफाइ कार्यक्रमको पहिलो दिन रामेछाप उद्योग वाणिज्य सङ्घ, सशस्त्र प्रहरी आश्रित गुल्म , जनप्रतिनिधि समेतको उपस्थिति रहेको थियो । प्रत्येक साताको शुक्रवार बिहान ७ बजे देखी ८ बजे सम्म एक घण्टा सञ्चालन हुने साप्ताहिक सरसफाइ कार्यक्रममा सहभागिताको लागि मन्थली नगरवासी लगायत सम्पूर्णमा जिल्ला प्रहरी कार्यालय रामेछापले अनुरोध पनि गरेको छ ।
प्रतिक्रिया