हरेक मानिसले आफ्नो बारेमा अरुले के सोचिरहेका होलान् भनेर मनमा लाग्न सक्छ । कतिले त आफ्नो काम गर्ने हो अरुले जेसुकै सोचे पनि आफूले काम गर्दै जाने हो पनि भन्छन् । तर पूर्णरुपमा यो तर्कमा सहमत हुन अलि गाह्रो हुनेरहेछ । मानिस एउटा सामजिक प्राणी भएको नाताले पनि उसले सोच्ने र गर्ने व्यवहारले समाजमा कस्तो प्रभाव पार्छ भनेर महत्व राख्छ ।
यी कुरा त परिपक्व मानिसले सोच्ने तथा गर्ने भए । तर के बालबालिकाहरुले पनि यसबारेमा सोच्छ्न होला ? उनीहरुको मनमा कस्तो कुराहरु आउलान् ? बालबालिका मात्र भनेर पनि भएन कति उमेरका बालबालिकाले कसरी सोच्छन्, यसलाई पनि विचार पु¥याउनु जरुरी छ । उमेरअनुसार बालबालिकाले फरक–फरक तरिकाले सोच्ने गर्छन् नै ।
Advertisement
सबैभन्दा पहिलो कुरा त बालबालिकाले सुनेर, हेरेर र आफैंले गरेर सिकिरहेका हुन्छन् । त्यसैअनुसार उनीहरुको धारणा तथा सोच्ने तरिका विकास भइरहेको हुन्छ । यदि कसैको घरमा आमाबुवा सधैं झगडा गर्छन् भने त्यो घरका बालबालिका एकदमै शंकालु स्वभावका हुन पुग्छन् ।
छिट्टै रिसाउने स्वभाव उनीहरुमा विकास हुन थाल्छ । अनि उनीहरुले त्यो स्वभाव बाहिर पनि विद्यालयमा, साथीहरुसँग पनि देखाउन थाल्छ्न । त्यसको पछाडि उनीहरुको पारिवारिक पृष्ठभूमि नै मुख्य जिम्मेवार हुन्छ ।
Advertisement
भर्खरै मैले कक्षा ८ मा पढने एकजना विद्यार्थी भाइलाई प्रश्न गरेको थिएँ । उनले एउटा नयाँ साइकल किनेका रहेछन् । मैले उनलाई सोधे भाइ कति राम्रो साइकल कहाँबाट कतिमा ल्यायौ ? जवाफ, दोकानबाट ल्याए । मैले फेरि सोधे कहिले किनेको ? थाहा छैन । साइकल कसले किनिदिएको ? मैले किनेको ।
यसरी उनले प्रश्नको उत्तर दिएपछि मैले उनको साथीलाई सोधें– यिनी किन यसरी रिसाएर बोल्छन् ? कसको छोरा हुन् यी ? भन्दा उनको बुवाआमा मैले चिनेकै रहेछन् । उनकी आमा उनी सानै हुँदा मृत्यु भएको मलाई थाहा थियो । त्यसपछि उनको बुवा काम गर्ने सिलसिलामा अर्कै ठाउँ गएका थिए ।
Advertisement
त्यसपछि मलाई लाग्यो जसरी उनले मलाई प्रश्नको उत्तर दिइरहेका थिए, त्यसमा उनको कुनै दोष छैन । किनकि उनले उत्तर कसरी दिने भन्ने बारेमा उनलाई अहिलेसम्म कसैले सिकाएन । बोल्दा नरिसाई बोल्नुपर्छ भन्ने बारेमा उनलाई पर्याप्त मात्रामा कसैले सिकाएन । उनको बुवा सधैं काममा व्यस्त घरमा त्यति बस्न नपाउने । त्यसकारण अहिले उनको छोरा अलि रिसाहा खालको र अलि रुष्ट व्यवहार गर्ने खालको बन्न पुग्यो ।
बालबालिकाले आफूभन्दा ठूलाहरुबाट सधैं सिकिरहेका हुन्छन् । विद्यालयमा आफूभन्दा माथिल्लो कक्षाका दाजुदिदीहरुले गरेका क्रियाकलापहरुले उनीहरुलाई प्रत्यक्ष असर पु¥याइरहेको हुन्छ । उनीहरुले आफूलाई यस्तो बन्ने भनेर एकजना आदर्श दाजुदिदी जस्तो बन्न खोज्छन् । उनीहरुले सधैं तिनैलाई ‘फलो’ गरिरहेका हुन्छन् । त्यो आदर्श व्यक्तिले लगाएको, खाएको, बोलेको, हिंडेको सबै कुरा नजिकबाट नियालिरहेको हुन्छ । उसले पालेको कपाल, लगाएको लुगा, उसको साथी सबै उनले याद गरिरहेको हुन्छ र ऊ पनि आफू त्यस्तै गर्न खोजिरहेको हुन्छ ।
एउटा वयस्क मानिसलाई कुनै विषय नै नलागेको कुरा बालबालिकाका लागि धेरै ठूलो समस्या हुनसक्छ । यदि कुनै एक ठाउँमा एउटा कुकुरले उनलाई भुकेको छ भने त्यो ठाउँमा पुगेपछि सधैं डराउने वा त्यो बाटो हिंडन डराउने जस्तो व्यवहार बालबालिकामा आउँछ ।
त्यही अवस्थामा उनलाई कसैले त्यसको बारेमा राम्रोसँग भनिदिएमा वा त्यो कुकुर बाँधेको छ, टोक्न सक्दैन मात्र भन्न सकेपनि उसले भोलिपल्टदेखि ढुक्क भएर हिंडन सक्छ । त्यस्तै विद्यालयमा पनि यस्ता अनेक घटनाहरु उनीहरुसँग भइरहेको हुन्छ । गृहकार्य नगर्दा कुनै शिक्षकले सजाय दिएमा ऊ बिस्तारै डरले विद्यालय जान डराउने, शिक्षकसँग बोल्न डराउने स्वभाव उनमा आउँछ ।
तर शिक्षकले सजाय दिनुको सट्टा राम्रोसँग त्यसको बारेमा गृहकार्य नगर्नुको पछाडिको कारण सोध्ने र केही समस्या रहे उनलाई सहयोग गर्न सके उसमा आत्मविश्वास जागेर आउँछ । तर यस्ता कुराहरु खासै ध्यानमा पुगेको देखिंदैन । यो झट्ट सुन्दा सामान्य विषय जोकोहीलाई लाग्न सक्छ नै ।
कसैले बालबालिकाले लगाएको लुगा कपडाको बारेमा नकारात्मक टिप्पणी वा उसको शारीरिक अवस्थालाई लिएर कुनै नकारात्मक टिप्पणी, रुप, रंग, पढाइको स्तर, साथीसँग तुलना, धार्मिक आस्था लगायत विषयमा तुलना गरेर टिप्पणी गर्नु उसको लागि असाध्य ठूलो विषय बन्न पुग्छ ।
वयस्क मानिसले त केवल टिप्पणी गरेर छाडिदिन्छन् तर त्यसपछि बालबालिकामा कस्तो असर पर्छ ? ती बालबालिकाले कसरी लिन्छन् ? भन्नेबारेमा असाध्यै सचेतताको साथ हामीले नसोच्ने हो भने परिणाम गम्भीर आउनसक्छ । उसको भविष्य नै आजका वयस्कहरुले गर्ने व्यवहारसँग जोडिएको हुन्छ ।
एउटा वयस्क मानिसलाई सामान्य लाग्ने घटना, क्रियाकलाप र भनाइले पनि बालबालिकालाई गम्भीर असर गर्न सक्छ । त्यसकारण आफूले वा कुनै वयस्क मानिसले आफू सानो छँदा त्यसलाई कसरी सोच्ने गर्थ्यो, सोही तरिकाले सोचेर मात्र बालबालिकालाई भन्नुपर्छ । व्यवहार गर्नुपर्छ ।
बालबालिका असाध्यै संवेदनशील पनि हुने हुँदा उनीहरुको भावना तथा मनमा असर पर्ने कुरा त गर्नै हुँदैन । उनीहरुसँग बढी भन्दा बढी संवाद गर्नुपर्छ । हिजोआज बालबालिकासँग हुने संवाद पनि घटिरहेको छ । उनीहरु समाजबाट अलग्गिने चलन बढेको छ, त्यसमा धेरै कुराले भूमिका खेलिरहेको छ ।
यो एउटा गम्भीर समस्या हो । बालबालिकालाई केवल भविष्यको कर्णधार मात्र भनेर हुँदैन, वर्तमानका साझेदारको व्यवहार पनि गर्न सक्नुपर्छ । उनीहरुलाई वर्तमानको साझेदार नबनाई भविष्यको कर्णधार बनाउन सकिंदैन ।
प्रतिक्रिया