रामेछाप । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान सरकारले मुलुकमा अहिले देखिएका सबै समस्याको समाधान गरी राजनीतिक स्थिरता, सुशासन कायम गर्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवसका अवसरमा नेकपा एमाले मन्थली नगर कमिटीले सदरमुकाम मन्थली स्थित तीनलाल पार्कमा रहेको पुष्पलाल, गङ्गालाल र कृष्णलालको सालिकमा माल्यार्पण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको अहिलेको सरकारको ’समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षालाई सफल बनाउन एकजुट भएर लाग्न पनि सबैलाई आह्वान गर्नुभयो । नेकपा एमालेले गरेको समृद्धिको यात्रालाई पनि वर्तमान सरकारले व्यवहारमा लागु गर्ने उहाँको विश्वास छ ।
उहाँले भन्नुभयो ‘‘समृद्धिको यात्रा हामीले गरेऊ । त्यो समृद्धिको यात्राको जुन लक्ष्य छ । त्यसलाई हामीले लागु गर्न सक्यौ भने निश्चित रूपमा नेपाल एउटा समृद्ध देश बन्नेछ । हामीले हाम्रै कालमा ’समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन सक्छौँ । यस कारण पनि हाम्रो पार्टीका आदरणीय अध्यक्षको नेतृत्वमा ठुला पार्टीहरू मिलेर सरकार बनेको हो ।’’
मुलुक बनाउन सबै मिलेर फराकिलो ढङ्गले अगाडि बढ्नुपर्छ र यसको नेतृत्व एमाले गर्नुपर्छ भन्ने निष्कर्ष अनुरूप अहिले एमाले–काँग्रेस सरकार बनेको उहाँले बताउनुभयो ।
अहिले बनेको राष्ट्रिय सहमतिको सरकार जनताको तमाम समस्याहरूको समाधान गरी इमानदारिताका साथ काम गरेर मुलुकमा राजनीतिक स्थिरता सहित सुशासन कायम गरी देशलाई समृद्ध बनाउने उनको भनाइ छ । यो सरकारले राम्रो काम गरे नेपाललाई समृद्ध र सुशासनयुक्त देशका रूपमा विश्वभर चिनाउने समेत उहाँले बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइरहँदा फूल माला चढाएर र सम्मान मात्रै व्यक्त गरेर नपुग्ने उहाँले बताउनुभयो । ‘पुष्पलालको बिचार के हो ? उहाँको दृष्टिकोण के हो ? उहाँको शैली के हो ? उहाँ किन कम्युनिष्ट पार्टीमा लाग्नुभयो, कम्युनिष्ट पार्टीमा लागे बापत पुष्पलालले कस्तो जीवन व्यतीत गर्नुभयो यसका बारेमा विचार विमर्ष गर्दै अनुसरण गर्नु अहिलेको आवश्यकता हो’, उहाँले भन्नुभयो । अहिलेको नयाँ परिवेशमा उहाँको शैली, व्यवहार, आचरणबाट के सिक्न सक्छौँ र उहाँले दिनुभएको प्रस्ट दृष्टिकोणबाट कसरी अगाडी बढ्न सक्छौ भन्ने बारेमा विचार विमर्ष र छलफल आवश्यक रहेको उहाँको भनाइ छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी बलियो बनाउँदै नेपालले लिएको समाजवादको लक्ष्य प्राप्तिका लागि पुष्पलालले अगाडी सारेको नीति, बिचार र सिद्धान्तलाई कसरी लागु गर्ने भन्ने बारेमा छलफल आवश्यक रहेको उहाँले बताउनुभयो ।
Advertisement
तीनलालको सालिकमा गरिएको माल्यार्पण कार्यक्रमको फोटो हेर्नुहोस्
प्रतिक्रिया