बाँदरले पनि नखाने, बिक्री गर्न पनि छैन चिन्ता : एउटा बिरुवा १०० रुपैयाँसम्म बिक्रि हुन्छ टिम्मुर

रामेछाप । अहिले काम गर्ने जनशक्तिको अभाव र बाँदर लगायतका जङ्गली जनावरहरूले दुःख दिएर गाउँ घरका धेरैले खेत बारीमा खेती नै लगाउन छाडिसकेका छन् । रोजगारीका लागि आफ्नो देश छाड्ने युवा बढ्दो मात्रामा छन् ।

जसका कारण गाउँमा काम गर्न सक्ने युवा शक्तिको खडेरी लागेको छ । गाउँमा दुःख सुख गरेर लगाइएको बाली नाली पनि बाँदर लगायतका जङ्गली जनावरहरूले नष्ट गरेपछि गाउँका उब्जा योग्य जमिनहरू लामो समय बाझै बस्दा खण्डहर बनिरहेका छन्।

Advertisement

यही भएर पनि होला रामेछापको खाँडादेवी गाउँपालिका–८ सिंहबहादुर तामाङ अहिले टिम्मुरको खेतीमा लाग्नुभएको छ । न बाँदरले खाला भन्ने डर, न समयमा बिक्री नभएर बिग्रिएला कि भन्ने डर, जति उब्जाए पनि बिक्री हुन्छ, त्यो पनि राम्रै मूल्यमा’, उहाँले भन्नुभयो । तामाङको बारीमा लगाएको १५ वर्षको एउटा टिम्मुरको बोट छ । अहिले यो बोटले राम्रो उत्पादन दिइरहेको छ । उहाँले आफ्नो बारीमा अरू टिम्मुरको बिरुवा पनि लगाउनुभएको छ । पछि लगाएका ती बिरुवाहरूले उत्पादन भने दिएको छैन ।
उहाँले भन्नुभयो “एउटा बोट १५ वर्ष जतिको भयो । यसले राम्रो उत्पादन दिइरहेको छ । यो बोटले तयारी १६ मानो जति उत्पादन दिन्छ । यसरी तयार पारिएको टिम्मुरको बिक्री गर्न समस्या छैन । गाउँबाट नै मानोको ४०० रुपैयाँ बढीमै बिक्री हुन्छ ।”
एउटा बोटमा दुई पाथी बढी टिम्मुर फल्ने र त्यसबाट ६ देखि ७ हजार रुपैयाँ आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । तामाङले टिम्मुरका फल मात्र होइन बिरुवासमेत उत्पादन गरी बिक्री गर्नुहुन्छ । गत वर्ष एउटा बिरुवा १०० रुपैयाँमा बिक्री गर्नुभएको तामाङले यो वर्ष भने एउटा बोटको ५० रुपैयाँको दरले ४०० भन्दा बढी बिरुवा बिक्री भएको उहाँले बताउनुभयो ।

एक पटक लगाएपछि निरन्तर आम्दानी हुने र बाँदरलगायतका जङ्गली जनावरले पनि दुःख नदिने नगदे बालीको रूपमा टिम्मुर खेती देखिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ बताउनुहुन्छ । बहु उपयोगी मसला र आयुर्वेदिक औषधिको रूपमा समेत प्रयोग हुने टिम्मुरको नेपाल र चीन लगायतका अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेको उहाँले बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो “टिम्मुरको खेती बेँसीदेखि माथिल्लो लेकाली भेगमा समेत हुन्छ । गुणस्तरको हिसाबले जति माथिल्लो भागमा उत्पादन भयो त्यति नै गुणस्तरीय मानिन्छ । खाँडादेवी गाउँपालिकाले पनि डिभिजन वन कार्यालयसँग समन्वय गरेर यो वर्ष ४०० बढी टिम्मुरका बिरुवा कृषकलाई वितरण गरेको छ ।”

खाँडादेवी गाउँपालिका टिम्मुर खेतीको बिस्तार गर्ने अभियानमा लागेको र किसानको माग अधिक भएकाले मागअनुसारका बिरुवा उपलब्ध गराउन नसकिएको उहाँले बताउनुभयो । एक हजार २०० देखि एक हजार ५०० मिटर उचाइमा हुने मसला प्रजातिको वनस्पति टिम्मुर चाइनामा अत्यधिक मात्रामा प्रयोग हुने र नेपालमा पनि जाडो मौसममा अत्यधिक प्रयोग हुने भएकाले खाँडादेवी गाउँपालिकाको विभिन्न ठाउँमा यसको राम्रो उत्पादन सम्भावना देखिएको उहाँले बताउनुभयो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च