रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीकी शान्ति माया सुनुवारले जन्मेको ७६ वर्षपछि बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाइन् ।
२००५ सालमा जन्मिएकी सुनुवारले बिहीबार जिल्ला प्रशासन कार्यालय रामेछापबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी हुन् । साबिकको भुजी गाउँ विकास समितिको वडा नं ७ की सुनुवारले नागरिकताका लागि यस अघि पनि प्रयास गरेकी थिइन् । तर सनाखतमा तिन पुस्ते कोही जिम्मेवारी नभएपछि सुनुवार ७६ वर्षसम्म नागरिकता विहीन थिइन् ।
Advertisement
यो विषयमा जानकारी भएपछि उमाकुण्ड गाउँपालिका–७ भुजीका वडा अध्यक्ष रुद्रमणि नेवार र कार्यपालिका सदस्य मनिता सुनुवारको पहलमा बिहीबार सुनुवारले जिल्ला प्रशासन कार्यालय रामेछापबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन् । शान्ति मायासँगै साबिक भुजी गाउँ विकास समितिका ३० वर्षका धनराज सुनुवारले पनि नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गरेका छन् । उनले पनि तीन पुस्ते सनाखत नभएकै कारण नागरिकता पाएका थिएनन् । दुवै जनाको सनाखतमा वडा अध्यक्ष नेवार र कार्यपालिका सदस्य मनिता सुनुवार बसेपछि उनीहरूले नागरिकता पाएका हुन् ।
प्रतिक्रिया