रामेछाप । अविरल वर्षाले यही साउन १६ गते बिहान रामेछापको लिखुतामाकोशी गाउँपालिका–३ धोबी स्थित सात भाइ टोलका सहदेव खड्काको दुई वटा घर भत्कियो ।
खड्काको दुई वटा घर मध्ये पहिरोले एउटा घर पूर्ण रूपमा भत्किएको छ भने एउटा पनि बस्न नमिल्ने गरी जोखिममा छ । पहिरोले घर विहीन खड्काका चार जना परिवार अहिले उनका आमा र दाइको घरमा बसिरहेका छन् ।
Advertisement
पहिरोले घर विहीन बनेका खड्काले आफूहरूलाई स्थानीय सरकारले बेवास्ता गरेको गुनासो गर्नुभएको छ । भएको दुई वटै घर भत्किएपछि आवश्यक सहयोगका लागि आग्रह गर्दा पनि वडा तथा गाउँपालिकाले गैर जिम्मेवार तवरले बेवास्ता गरेको खड्काको गुनासो छ ।
उहाँले भन्नुभयो “पहिरोले दुई वटै घर बस्न नमिल्ने भएको छ । अहिले अर्काको घरमा परिवार बसेका छन् । यो बेला स्थानीय सरकारले सहयोग गर्नुपर्ने हो । तर यसबारे भन्दा गाउँपालिका अध्यक्षले नै अहिले चैतको समय होइन साउन हो । बारीमा बस्ने मकै पोल्ने खाने जस्ता गैर जिम्मेवार जवाफ दिन्छ । अब म सहयोग माग्न कहाँ जाऊ ।”
उहाँले घरबाट विस्थापित आफ्नो परिवारलाई अहिलेसम्म गाउँपालिकाबाट कुनै पनि राहत नपाएको बताउनुभयो । एउटा पाल माग्दा पनि गाउँपालिकाले उपलब्ध गराउन नसकेको उहाँको गुनासो छ । उहाँले रेडक्रस रामेछापले केही ओढ्ने कपडा, केही भाँडाकुँडा दिए पनि अन्य कुनै पनि निकायबाट राहत नपाएको बताउनुभयो । सबै भन्दा नजिकको सरकार वडा तथा गाउँपालिका भए पनि उनीहरूले पनि खासै वास्ता नगरेको उहाँले गुनासो गर्नुभयो ।
यता गाउँपालिकाका अध्यक्ष केशव महतले भने विस्थापित सहदेव खड्काको परिवारलाई उहाँकै आमा र दाइको घरमा बस्ने व्यवस्था मिलाइएको बताउनुभयो । अध्यक्ष महतले भन्नुभयो“ नेपाल प्रहरी सहित हामी गएर उहाँहरूको सबै समान निकालेर घरमा राखिदिएका छौँ । उहाँले एउटा माटोको घर र एउटा भूकम्पको राहतमा एक कोठे घर बनाउनुभएको रहेछ । दुबै घरको सामान निकालेर सुरक्षित ठाउँमा राखिदिएका छौँ । नेपा रेडक्रसबाट केही सामान उहाँले पाउनुभएको छ । उहाँहरू अलि उहाँको आमा र दाइको घरमा बसिरहनुभएको छ । उहाँलाई आवश्यक पर्ने खाद्यान्न नभएको खण्डमा हामी उपलब्ध गराउँछौ भनेका छौँ ।”
Advertisement
पहिरो पीडितलाई बारीमा बस्ने मकै पोलेर खाने जस्ता कुरा जनप्रतिनिधिले नभनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो“ मकै पोलेर खाने भनेको कुरा चाही अब त्यो प्रसङ्गवश कुरा गर्दा कसैले भन्दियो होला । अहिले त बारी भरी मकै छ । मकै त डुबेको छैन । त्यही मकै पोलेर खाएर पनि बाच्न सकिन्छ भने होला कसैले । त्यहाँ धेरै मान्छेहरु थिए । यस्तो कुरा गर्दै पनि थिए । जनप्रतिनिधिले त त्यस्तो कुरा के भन्थे ।”
पीडितको अपेक्षा अनुसारको सहयोग पालिकाले तत्कालै गर्न नसके पनिर विस्थापित मान्छेलाई अल्पकालीन स्थापित कसरी गर्न सकिन्छ भन्नेमा गाउँपालिका लागेको उहाँले बताउनुभयो । जनताको अपेक्षा सबै कुरा नगदमा हिसाब गर्ने खालको भएकाले समस्या भएको उहाँले बताउनुभयो । तर गाउँपालिका यस्ता कुराहरूलाई ध्यानमा राखेर नगद उपलब्ध गराउने भन्दा पनि उनीहरूको आवश्यकताको पहिचान गरी आवश्यक सामाग्री उपलब्ध गराउने पक्षमा रहेको अध्यक्ष महतले बताउनुभयो ।
Advertisement
बुधवार रातिको अविरल वर्षाले पनि लिखुतामाकोशी गाउँपालिका–५ नागदह स्थित भालु खोपमा चार घर परिवार घर विहीन बनेका छन् । भालु खोप स्थित मेखबहादुर बुढाथोकीको आँगन नजिकबाट खसेको पहिरोका कारण मेखबहादुरको सहित गङ्गामाया बुढाथोकी, बाबुराम बुढाथोकी र धुम्म माया बुढाथोकीको घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पहिरोले क्षति गरेका चार घर परिवारका १२ जनालाई स्थानीयको सहयोगमा सोही स्थानमा रहेका मालिका आधारभूत विद्यालयमा बस्ने व्यवस्था मिलाइएको प्ररीले जनाएको छ ।
प्रतिक्रिया