रामेछाप । २५ औँ अन्तर्राष्ट्रिय युवा दिवस २०२४ रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा अनेरास्ववियु मन्थली नगरपालिका कमिटीले सोमबार मन्थलीमा खुल्ला वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।
सङ्गठनका पालिका अध्यक्ष उत्सव केसीको अध्यक्षता तथा केन्द्रीय सचिव सञ्जीव धितालको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा मन्थली नगरपालिकाका १६ विद्यालयका ३४ जना विद्यार्थीले भाग लिएका थिए । प्रतिस्पर्धामा केब्स स्कुल मन्थलीका विद्यार्थी राशिक श्रेष्ठ प्रथम हुनुभएको छ । त्यस्तै श्री माध्यमिक विद्यालय हर्रेचिण्डेकी छात्रा अस्मिता चौहान द्वितीय, मन्थली मावि मन्थलीकी मनसुन लामा तृतीय र मन्थली माविकै मञ्जिता कार्की र सिक्राल मावि गेलुका कृष्ण अधिकारी चौथो हुनुभएको छ ।
Advertisement
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीले क्रमशः ५ हजार ३ हजार २ हजार र १ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेकपा एमाले मन्थली नगरपालिका कमिटी अध्यक्ष रामबाबु घिमिरे, स्थायी कमिटी सदस्य सागरहरि अधिकारी, वाग्मती प्रदेश अध्यक्ष लालबहादुर बुढाथोकी, रामेछाप जिल्ला अध्यक्ष पुष्कर भट्टराई लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
२५ औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवाहरूले खाँडादेवी गाउँपालिकामा रहेको सुलिथुम्का भ्यु टावर तथा आसपासका पर्यटकीय स्थलहरूको सरसफाइ गरेका छन् । खाँडादेवी युवा परिषद्को आयोजनामा सुलिथुम्का भ्यु टावर तथा आसपासका पर्यटकीय स्थानहरूमा सरसफाइ कार्यक्रम गरिएको हो । सरसफाइ कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको पनि सहभागिता रहेको थियो ।
प्रतिक्रिया