रामेछाप । रामेछाप जिल्लाका विभिन्न स्थानमा सार्वजनिक जग्गा र वन क्षेत्रको अतिक्रमण बढ्दै गएको पाइएको छ । दुई वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापका विभिन्न स्थानमा सार्वजनिक जग्गा र वन क्षेत्रको अतिक्रमण भइरहेको पाइएको हो ।
वन निर्देशनालय हेटौँडाले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०÷८१ सम्मको अद्यावधिक तथ्याङ्कमा रामेछापमा ४९५ दशमलव ५ हेक्टर वन अतिक्रमण भएको उल्लेख छ ।
जिल्लाका विभिन्न स्थानमा सार्वजनिक जग्गा र वन क्षेत्रको अतिक्रमण गरी बस्ती लगायत विभिन्न संरचना निर्माण हुँदा पनि यस्ता कार्य रोक्नका लागि जिम्मेवार निकाय मूकदर्शक बनिरहेको स्थानीयको गुनासो छ । धेरै ठाउँमा सार्वजनिक जग्गा तथा वन क्षेत्रको अतिक्रमण भएको कुरा जानकारी हुँदा हुँदै पनि अतिक्रमण रोक्नका लागि प्रदेश मन्त्रालय, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन, प्रहरी लगायतका निकायको कुनै सक्रियता नदेखिएको स्थानीयको गुनासो छ ।
Advertisement
रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरे, गाल्पा बजार, दोरम्बा शैलुङ गाउँपालिका–१ कुखुरे आहाल, खोला खर्क, वडा नं २ को दोरम्बा बजार क्षेत्रमा ठुलो मात्रामा सार्वजनिक जग्गा अतिक्रमण भएका छन् । त्यस्तै मन्थली नगरपालिका–१४ को पोखरी बजार, उमाकुण्ड गाउँपालिका–२ को रत्नज्योति बजार , गोकुलगंगा गाउँपालिका–२ ठोसे र उमाकुण्ड गाउँपालिकाको सीमामा पर्ने सिङगटी बजार लगायतका क्षेत्रमा ठुला मात्रामा सार्वजनिक जग्गा अतिक्रमण भएका छन् ।
वन निर्देशनालय हेटौँडाको तथ्याङ्कलाई हेर्दा धेरै वन तथा सार्वजनिक जग्गा अतिक्रमण हुने जिल्लाहरूमा सिन्धुली, मकवानपुर र चितवनपछि रामेछाप परेको छ । बागमतीका १३ जिल्लामध्ये सिन्धुलीमा सबैभन्दा बढी ६ हजार ४ सय ४.८७ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको परेको छ । मकवानपुरमा ३ हजार ५ सय ५६.९६, चितवनमा १ हजार ६ सय ८८, धादिङमा २ सय ४६.९६, रसुवामा ३६.२७ र नुवाकोटमा ९३.९४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको निर्देशनालयले जनाएको छ । यस्तै काठमाडौँमा १३, ललितपुरमा ३०, काभ्रेमा २ सय ५८, सिन्धुपाल्चोकमा ७८.९०, रामेछापमा ४ सय ९५.५ र दोलखामा ४४.८५ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । भक्तपुरमा भने वन क्षेत्र अतिक्रमणमा नपरेको तथ्याङ्क छ ।
Advertisement
निर्देशनालयले वन अतिक्रमणको एकीकृत तथ्याङ्क पहिलो पटक तयार पारेको हो । तथ्याङ्कमा हालसम्म बागमती प्रदेशमा १२ हजार ९ सय ४६.७९ हेक्टर वन क्षेत्र अतिक्रमण भएको उल्लेख छ । निर्देशनालयले अनुगमन तथा मूल्याङ्कन प्रतिवेदन बनाएर प्रदेश मातहतका १५ वटा डिभिजन वन कार्यालयको समन्वयमा अतिक्रमण भएको वन क्षेत्रको तथ्याङ्क एकीकृत गरेको हो । बागमती प्रदेशभर ४ हजार ५ सय ३४ वटा सामुदायिक वन, ३ हजार ३ सय ३६ कबुलियत वन, ४९ वटा धार्मिक वन र निजी वन ६ सय ७३ वटा रहेको निर्देशनालयको भनाइ छ।
प्रतिक्रिया