रामेछाप । पछिल्लो समय रामेछापका विभिन्न स्थानमा चोरी तथा ठगीक घटना भइरहेका छन् । कतै कानमा लगाएको सुन लुछिएका छन् भने कतै खसी बोका पनि चोरी भएका छन् । बुधवार लिखुतामाकोशी गाउँपालिका–५ नागदहमा एक वृद्धाले कानमा लगाएको सुन चोरी भएको छ ।
वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ताको नवीकरण गरी घर फर्कँदै गरेकी सुन्तली मै तामाङले कानमा लगाएको सुन लुटिएको स्थानीय सुसीता तामाङले जानकारी दिइन् ।
सामाजिक सुरक्षा भत्ताका लागि वडा कार्यालयमा नवीकरण गरी फर्किँदै गर्दा बुधवार मध्यान्ह १२ बजेको समयमा स्थानीय ऐरमखोला दोभानमा तामाङले कानमा लगाएको सुन लुटिएको उनको भनाइ छ । उनका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय धोबी डाँडालाई जानकारी गराएपछि सुन लुट्ने समूहको खोजी भइरहेको उनको भनाइ छ ।
Advertisement
बुधवार नै मन्थली नगरपालिका–८ चिसापानीमा दुई वटा खसी र एउटा बोका चोरी भयो । चिसापानीका कुलबहादुर मुग्रातीलाई ठगहरूले विभिन्न प्रलोभन तथा छलकपट गरी दुई वटा खसी उम्काएर सदरमुकाम मन्थली स्थित एक मासु पसलमा बिक्री गरेको पुष्टि भएको स्थानीय भुवन श्रेष्ठले बताए ।
यसरी खसी तथा बोका लाने मान्छेप्रति शङ्का लागेपछि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइएको र प्रहरीले सिसी क्यामराबाट खसी बिक्री गरेको पत्ता लगाइ खसी तथा बोका फिर्ता गराएको उनले बताए । उनका अनुसार मुग्रातीको घरमा अपरिचित व्यक्ति पुगेको र उनीहरूले कृषि फर्म खोल्ने भनी प्रति रोपनी २ लाख १० हजार रुपैयाँका दरले १२ रोपनी जग्गा पास गर्ने समेत सहमति भएको थियो ।
तर बुधवार बिहान मन्थलीबाट अटो लिएर गएका ठगले मुग्रातीको घरबाट दुई वटा खसी र एउटा बोका साँझ पैसा दिन्छौँ भन्दै मन्थली ल्याएर मासु पसलमा बेचेको पाइएको उनले बताए । ठगले दुई वटा खसीको ४५ हजार रुपैयाँ र एउटा बोका १२ हजार रुपैयाँमा लागि मन्थली स्थित एक मासु पसलमा दुई वटा खसी जम्मा ३५ हजार रुपैयाँमा बिक्री गरेको र बोका बास बसेको होटेलमै छाडेर भागेको उनले बताए ।
Advertisement
प्रतिक्रिया