मालपोत कार्यालय रामेछाप हाकिम विहीन, मन्त्रालय भन्छ केही प्राविधिक समस्या भयो

रामेछाप । मालपोत कार्यालय रामेछाप कार्यालय प्रमुख विहीन बन्दा सेवाग्राही मर्कामा परेका छन् । कार्यालय प्रमुख रिक्त हुँदा दैनिक काम समेत प्रभावित भएर सेवाग्राहीले सास्ती भोग्नु परेको हो ।

प्रमुख नहुँदा हाल मालपोतमा राजीनामा, दृष्टि बन्धक, बकस पत्र, लगायतका सामान्य कामहरू मात्र भइरहेका छन् । हाकिम नहुँदा निर्णय गर्नुपर्ने कामहरू, नामसारी, घर कायम, संशोधन लगायतका महत्त्वपूर्ण काम एक हप्ता भन्दा बढी समयदेखि रोकिएका छन् । जग्गा नामसारी, संशोधन लगायतका काम गर्न टाढाबाट आएका सेवाग्राहीहरू कार्यालय प्रमुख कुरेर बस्न वा फर्कन बाध्य भएका छन् ।
एक हप्ता भन्दा बढी समयदेखि कार्यालय प्रमुख नहुँदा मालपोतमा राजीनामा, दृष्टि बन्धक, बकस पत्र, लगायतका नियमित बाहेक महत्पूर्ण काम हुन नसकेको मालपोत कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख दामोदर सुवेदीले बताउनुभयो ।
उहाँले भन्नुभयो “यसअघिका कार्यालय प्रमुख रमाना लिएर जानुभयो । त्यसपछि कार्यालयमा भएका मौजुदा ज्येष्ठ सिनियर कर्मचारीलाई कार्यालय प्रमुख तोक्न भनी हामीले भूमि व्यवस्थापन विभागलाई पत्र पठाएका छौँ । तर विभागले अहिलेसम्म यहाँ भएका कर्मचारीलाई पनि प्रमुख तोकेको छैन । नयाँ कार्यालय प्रमुख पनि पठाइसकेको अवस्था छैन । जसले गर्दा साउन २४ गतेदेखि कार्यालयको महत्त्वपूर्ण कामहरू रोकिएका छन्।”
बाधा अड्काउ फुकाउन भूमि व्यवस्थापन विभाग र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ताकेता गरिएको उहाँले बताउनुभयो । ‘विभागबाट टिप्पणी उठेर मन्त्रालयसम्म गएको भन्ने छ, अब त्यहाँबाट कार्यालय प्रमुख नआएसम्म कार्यालयमा भएकाले निर्णय गर्न सक्ने अवस्था आएन’, उहाँले भन्नुभयो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भने केही प्राविधिक समस्याका कारण मालपोत कार्यालय रामेछापमा कार्यालय प्रमुख पठाउन नसकिएको जनाएको छ । मन्त्रालयका प्रशासन शाखा प्रमुख उपसचिव कृष्णप्रसाद भण्डारीले केही प्राविधिक समस्या देखा परेकाले कार्यालय प्रमुख पठाउन नसकिएको बताउनुभयो ।
उहाँले भन्नुभयो “केही टेक्नीकली कुरा नमिलेर निर्णय भएको छैन । त्यहाँ सेकेन्ड क्लासको दरबन्दी हो । अधिकृतलाई कार्यालय प्रमुख तोक्न भनी पठाएको भए तीन÷चार दिन अगाडी नै कार्यालय प्रमुख गइसक्ने थियो । सुब्बालाई कार्यालय प्रमुख दिने भनिएकाले समस्या भएको हो । हामी सकेसम्म छिटो प्रमुख पठाउने गरी लागि परेका छौँ ।”
मन्त्रालयले भन्दा पनि भूमि व्यवस्थापन आयोगले कार्यालय प्रमुख प्रस्ताव गर्ने भएकाले विभागसँग अधिकृत खोजेर तत्कालै कार्यालय प्रमुखको निर्णय गर्ने बारेमा कुरा भएको पनि उहाँले बताउनुभयो । दुई तहमाथि कार्यालय प्रमुख दिन नमिल्ने कानुनी व्यवस्था भएकाले समस्या भएको उहाँले बताउनुभयो । कार्यालय प्रमुख नहुँदा जनताको काम रोकिएकाले सकेसम्म छिटो कार्यालय प्रमुख पठाउने गरी आफूहरू लागि परेको उहाँले बताउनुभयो ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च