रामेछाप । रामेछापमा चोरीको घटना बढेपछि प्रहरीले निगरानी बढाएको छ । पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा, खसी चोर्ने, घर फोरेर भाँडाकुँडा, गरगहना, नगद चोरी तथा कानमा लगाएको सुन समेत चोरीको घटना भएका छन् ।
सदरमुकाम मन्थलीमै पार्किङमा राखिएको मोटरसाइकल तथा मोटरसाइकलको नट बोल्ट समेत चोरीका घटना भएका छन् ।
हराएको मोटरसाइकल अहिलेसम्म फेला परेको छैन । नट बोल्ट चारीमा प्रहरीकै संलग्नता भएको पाइएपछि विभागीय कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापले आइतबार जिल्लाका पत्रकारहरूसँग भेटघाट गरी चोरीका घटना र घटनामा संलग्नहरूको विवरण सार्वजनिक गरेको छ ।
पत्रकार भेटघाटमा जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले सार्वजनिक गर्नुभएको चोरीका घटना तथा घटनामा संलग्नहरूको विवरणमा प्रहरी नै संलग्न नट बोल्ट चोरीको घटना तथा कारबाही बारे भने केही पनि उल्लेख गरिएको छैन ।
घर फोरेर भाँडाकुँडा, नगद, मोबाइल, गरगहना चोरी गर्ने ५ जना पक्राउ
पत्रकार भेटघाट कार्यक्रममा उहाँले चोरीको घटनामा घर फोरेर भाँडाकुँडा, नगद, मोबाइल, गरगहना चोरीका घटनामा संलग्न र चोरी गरेको सामाग्री खरिद गर्ने कवाडी पसल सञ्चालक सहित पाँच जनालाई पक्राउ गरी रामेछाप जिल्ला अदालत मार्फत चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो ।
गत साउन ३१ गते राति साढे १२ बजेको समयमा मन्थली नगरपालिका–१ स्थित वीर बहादुर तामाङको घर फोरेर घरभित्रको गरगहना, नगद, तथा भाँडा वर्तन चोरी गर्ने, भदौ १ गते मन्थली स्थित देवकोटा चोकमा रहेको महादेव मन्दिरमा चढाएको कलश र घण्टी चोरी लगायतका घटनामा संलग्न र चोरी भएको सामाग्री खरिद गर्ने कवाडी पसलेलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।
Advertisement
यसरी पक्राउ पर्नेमा मन्थली बसपार्क बस्ने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–१ लाल झाडी घर भएका ४५ वर्षका राजकुमार विश्वकर्मा, मन्थली नगरपालिका–१ बसपार्क बस्ने ३४ वर्षका हर्कबहादुर भुजेल, सिन्धुली जिल्ला तीन पाटन गाउँपालिका–२ भिमस्थान बस्ने ४५ वर्षका नरेश लामा तामाङ, महोत्तरी जिल्ला रामगोपालपुर नगरपालिका–४ घर भई मन्थली नगरपालिका–१ रणजोर पुल नजिकै बस्ने वर्ष ३५ की बबिता कुमारी चौधरी, बारा जिल्ला सिम्रौनगढ नगरपालिका–७ का २५ वर्षका सुरेन्द्र मुखिया रहेका छन् ।
प्रहरीले उनीहरूले चोरी गरेका फलामको ओखल एक थान, मुस्ली एक थान, फलामकै हाईड्रोलिक जग एक थान, रड बङ्गाउने फलामको डाई एक थान, ढलौटको अम्खोरा एक थान, चरेसका थाल तीन थान, झर्काका थाल चार थान, नगद १५ सय ३०, पित्तलको गाग्री तीन थान, तामाको दियो दुई थान, काँसको डबका तीन थान, ढलोटका करुवा चार थान, तामाको कलश तीन थान, ढलौटको घण्टी एक थान र विभिन्न कम्पनीका मोबाइल सेट सार्वजनिक गरेको छ । उनीहरू पाँचै जनामाथि रामेछाप जिल्ला अदालत मार्फत चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
खसी, मोबाइल र नगद चोरीमा संलग्न ४ जना पक्राउ
खसी चोरीमा संलग्न एक जना र मोबाइल र नगद चोरी गर्ने तीन जनालाई पक्राउ गरी अदालतबाट चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको बताउनुभयो । गत साउन २३ गते राति रामेछाप नगरपालिका–४ स्थित वीरबहादुर मगरको गोठबाट तीन वटा खसी चोरेको आरोपमा सिन्धुली जिल्ला फिक्कल गाउँपालिका–२ घर भएका २७ वर्षका गोपीलाल सुनुवारलाई पक्राउ गरिएको बताउनुभयो । उहाँका अनुसार खसी चोरी भएको सूचना पश्चात् अनुसन्धानमा लागेको प्रहरीले उक्त खसी सिन्धुलीको फिक्कल गाउँपालिका–२ मा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा खोजी गर्दा सुनुवारलाई तीन वटामध्ये एउटा खसी सहित पक्राउ गरिएको हो ।
Advertisement
साउन ३१ गते दिउँसो २ बजेको समयमा मन्थली नगरपालिका–४ सालु स्थित सामल स्थानका सोमबहादुर खत्रीको घरबाट ओप्पो कम्पनीको मोबाइल फोन र नगद चोरी गरेको आरोपमा दुई जना महिला र एक जना पुरुषलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । चोरी भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी चौकी सालुबाट खटिएका प्रहरीले चोरीमा संलग्न देखिएका सर्लाही जिल्लाको ब्रम्हापुरी नगरपालिका–६ की ४० बर्सिया कुसुम कुमारी, सोही ठाउँकी वर्ष १९ की सुनिता कुमारी र भारतको विहार दोस्तिया थान–७ घर भएका ३२ वर्षीय तपेश्वर महतोलाई पक्राउ गरी रामेछाप जिल्ला अदालत मार्फत चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
मन्थलीका तीन स्थानमा पिकेट थपियो
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले पछिल्लो समय जिल्ला सदरमुकाम मन्थली लगायतका क्षेत्रमा चोरीका घटना बढेकाले सतर्कता बढाइएको बताउनुभयो । चोरीका घटना नियन्त्रणका लागि बजार क्षेत्रका तीन ठाउँ पिकेट थप गरेको प्रमुख सिंहले बताउनुभयो । डिएसपी सिंहले मन्थलीको मदन आश्रित चोक, बसपार्क र जिल्ला प्रहरी कार्यालय नजिकै प्रहरी पिकेट थप गरेको बताउनुभयो । त्यस्तै प्रहरीले रामेछापमा चेक जाँचमा कडाइ गरेको पनि उहाँले बताउनुभयो । डिएसपी सिंहले चोरीका घटनामा सलग्नहरुमा माथि रामेछाप जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो । चोरी गरिएको सामान खरिद बिक्री गर्ने दुवै पक्षलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख सिंहले बताउनु भयो ।
प्रतिक्रिया