रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा आज गाईजात्रा पर्व मनाइएको छ । गाईजात्रा पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइन्छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने महत्त्वपूर्ण पर्व मानिन्छ ।
मन्थलीमा नेवा खल र नेवाःदेया दबूँ रामेछापको आयोजनामा आज वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झनामा दिवङ्गत भएका आफन्तको तस्बिर बोकेर बाजा ‘गाजा गाजा’ सहित मन्थली बजार परिक्रमा गरी गाईजात्रा पर्व मनाइएको छ । मन्थलीको गाईजात्रामा सहभागीहरूले राजनीतिक दल, भ्रष्टाचार, बेथिति लगायतका कुरालाई केन्द्रित व्यङ्ग्यात्मक प्लेकार्ड तथा तस्बिरहरू बोकेका थिए ।
गाईजात्रामा वर्षभरि दिवङ्गत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अङ्कित गाई बनाएर सहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृत व्यक्तिको आत्माले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।
लाखे नाच लगायतका कार्यक्रम भदौ ११ गतेसम्म चल्ने
सदरमुकाम मन्थलीमा नेवार समुदायको राम्रो बसोबास छ । पहिला पनि यहाँका नेवार समुदायले आफ्नो कला संस्कृतिको संरक्षणका लागि यस्ता पर्वहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका थिए। बिचमा यस्ता कार्यक्रमहरू रोकिएका थिए ।
Advertisement
तर पछिल्ला केही वर्षबाट भने मन्थलीका नेवार समुदायले आफ्ना कला, संस्कृति र भेष भूषाको संरक्षण तथा जगेर्ना गर्नका लागि नेवारी कला संस्कृति पहिचान बचाउ, संस्कृति सभ्यता कायम राखौँ भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
गाईजात्रा पर्वलाई लक्षित गरी नेवा खल र नेवाःदेया दबूँले केही दिन अघि देखिनै मन्थलीका विभिन्न स्थानहरूमा साँझको समयमा लाखे नाच , धिमे नाच, धिन्ताङ्धिसिङ, देवी नाच, रोपाइ जात्रा, लौरो नाच, नेवारी नित्य पर्दशन गरिरहेको छ ।
Advertisement
यस्ता कार्यक्रमहरू हेर्न जिल्लाका विभिन्न स्थानमा धाउनुपर्ने मन्थली बासीका लागि नेवा खल र नेवाःदेया दबूँले आयोजना गरेको लाखे नाच , धिमे नाच, धिन्ताङ्धिसिङ, देवी नाच, रोपाइ जात्रा, लौरो नाच, नेवारी नित्य मन्थली बासीको मनोरञ्जनको एउटा महत्त्वपूर्ण माध्यम बनेको स्थानीय बत्ताउँछन् । गाईजात्रा विशेष यो कार्यक्रम भदौ ११ गते कृष्ण अष्टमीसम्म सञ्चालन हुने नेवा खल रामेछापले जनाएको छ ।
प्रतिक्रिया