रामेछाप । गाई भैँसीमा लाग्ने सङ्क्रामक रोग लम्पी स्किनविरुद्धको खोप अभियान अन्तर्गत रामेछापको मन्थली नगरपालिकामा ८ सय पशु वस्तुमा खोप लगाइएको छ ।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत साउन २५ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरेको खोप अभियान अन्तरगत मन्थली नगरपालि भित्रका किसानले पालेका ८ सय बढी गाई भैँसीमा लम्पी स्किनविरुद्धको खोप लगाएको मन्थली नगरपालिका पशु सेवा उपशाखाका सहायक पशु विकास अधिकृत मुकुन्द कुमार खड्काले बताउनुभयो ।
Advertisement
मन्थली नगरपालिकाभित्रका किसानले पालेका १७ हजार बढी पशु वस्तु भए पनि प्रदेश सरकारले माग अनुसारको खोपको डोज नदिएको उहाँले बताउनुभयो । यो वर्षको हालसम्म मन्थली नगरपालिकामा लम्पी स्किन रोग देखा नपरेको उहाँले बताउनुभयो ।
तर पनि सङ्क्रामक रोगबाट किसानले पालेका पशु वस्तुलाई जोगाउनका लागि खोप लगाउने कुरामा मन्थली नगरपालिका गम्भीर रहेको उहाँको भनाइ छ । यही कुरालाई मनन गरी नगरले अपुग खोप प्रदेश सरकारसँग माग गरिएको र प्रदेशले उपलब्ध नगराएमा आन्तरिक श्रोतबाटै खरिद गरी बाकी पशु वस्तुमा खोप लगाइने उहाँले बताउनुभयो । गत साउन २५ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको खोप अभियान अन्तरगत रामेछापका आठ वटा पालिकामा गरी जम्मा ४ हजार २ सय २२ वटा पशु वस्तुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ ।
प्रतिक्रिया