रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले अहिले देखिएका तमाम समस्याहरूको समाधान गर्ने तर्फ प्रदेश सरकार लागेको बताउनुभएको छ ।
मन्त्री काफ्लेको सम्मानमा बिहीबार नेपाली काँग्रेस रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले यस्तो बताउनुभएको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री काफ्लेले नेपालमा अहिलेसम्म पैदा भएका जति पनि समस्याहरू छन् त्यसको नेपालीले नै समाधान गरेको इतिहास रहेको बताउनुभयो । त्यही इतिहासलाई सम्झेर अहिलेको प्रदेश सरकारले राजनीतिक स्थिरता सहित शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा देखिएका यावत समस्या समाधान गर्ने उहाँको भनाइ छ ।
Advertisement
उहाँले भन्नुभयो “हाम्रो देशमा समस्या नभएको होइन । यावत समस्याहरू छन् । रोजगारी नपाएर धेरै युवाहरू बिदेसिएका छन् । गाउँमा भएका युवा पनि रोजगारी कै लागि सहर केन्द्रित भएका छन् । स्वास्थ्य र शिक्षामा पनि समस्या छन् । गाउँका विद्यालयमा पढ्ने विद्यार्थी छैनन् । यस्ता धेरै समस्याहरू छन् । तर हामीले यो बुझ्नुपर्छ । हाम्रो समस्याको हामीले नै समाधान गर्नुपर्छ । अरू बाहिरका मान्छे आएर हाम्रा समस्याको समाधान गरिदिने होइन ।”
अहिलेको यावत समस्या बागमती प्रदेश सरकारले बुझेकाले ती समस्याहरूको समाधान गर्दै प्रदेश सरकार अगाडी बढ्ने उहाँले बताउनुभयो । अहिले प्रदेश सरकार सङ्घीय सरकारले दिएको बजेट बाँड्ने मात्रै हो जस्तो देखिएकाले अब यसलाई प्रदेशको अधिकार खोज्दै र मिलाउँदै जाने उहाँको भनाइ छ ।
प्रतिक्रिया