रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा पछिल्लो समय चोरीका घटना बढ्दै गएको छ । मन्थली लगायत जिल्लाका विभिन्न स्थानमा घर फोरेर भाँडाकुँडा, गरगहना, नगद चोरी जस्ता घटना भइरहेका छन् ।
सदरमुकाम मन्थलीबाट एक महिना अघि चोरी भएको मोटरसाइकल अझै फेला पर्न सकेको छैन । मन्थली बजारका विभिन्न स्थानबाट पार्किङ राखिएको मोटरसाइकलको नट बोल्ट समेत चोरीका घटना भएका छन्।
यस्ता चोरीका घटना बढेपछि प्रहरीले मन्थली बजार क्षेत्रमा रातको समयमा प्रहरी निगरानीका लागि भन्दै तीन वटा पिकेट थप गरेको छ ।चोरीका घटना बढेपछि यस्ता घटना हुन नदिनका लागि प्रहरीले मन्थली लगायत जिल्लाका विभिन्न स्थानहरूमा विशेष निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापले पत्रकार सम्मेलन नै गरी जानकारी गराएको थियो ।
Advertisement
पत्रकार सम्मेलनमा तीन चार दिनको अवधिमा चोरीका घटनामा संलग्न ९ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको भन्दै पक्राउ पर्नेको विवरण र चोरी भएका सामानहरू समेत सार्वजनिक गरिएको थियो ।
तर त्यसको केही दिनमै फेरी मन्थलीमा अर्को चोरीको घटना भएको छ । बिहीबार बिहान मन्थली बजार स्थित कृषि विकास बैङ्क क्षेत्रमा रहेको प्रत्युस इन्टरप्राइजेज एन्ड सप्लायर्सको गोदाम बाहिर मर्मत गरी राखिएको फ्रिज फोरेर कम्प्रेसन चोरी भएको छ ।
बिहीबार बिहान साढे ३ बजेको समयमा कृषि विकास बैङ्क हुँदै नगरपालिका कार्यालय जाने ओरालोमा रहेको गोदाम बाहिर राखिएको एउटा फ्रिज फोरेर कम्प्रेसन चोरी भएको प्रत्युस इन्टरप्राइजेज एन्ड सप्लायर्स सञ्चालक युवराज सुवेदीले बताउनुभयो ।
उहाँले भन्नुभयो“मन्थली बजार असुरक्षित बन्दै गयो । चोरीका घटना दिनहुँ जस्तै हुन थाले । ग्राहको मर्मत गरेर राखेको फ्रिजको कम्प्रेसन निकालेर लगेको अवस्था छ । गोदाम बाहरि तीन चा वटा फ्रिजहरू थिए । त्यसमध्ये एउटाको कम्प्रेसन चोरी भएको छ । सिसिटिभी फुटेजमा बिहान ३ः२८ बजेको समयमा फ्रिजको कम्प्रेसन निकालेको देखिन्छ ।”
मन्थली बजार यसरी दिनहुँ जस्तै हुने यस्ता चोरीका घटनाले मन्थलीका व्यवसायी, मन्थली बासीलाई नै असुरक्षित महसुस भएको उहाँले बताउनुभयो । चोरी भएको बारेमा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको र भोलि(शुक्रवार) चोरीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरी प्रहरीमा निवेदन दिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया