मन्थलीमा लाखे नाचको रौनक

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा लाखे नाचको रौनकता छाएको छ । लाखे नाच नेवार समुदायको परम्परागत नाच हो । मन्थलीका नेवार समुदायले नाग पञ्चमीका दिनदेखि कृष्णाष्टमीको भोलिपल्टसम्म हरेक साँझ लाखेनाच निकाल्ने गरेका छन् ।

नेवार समुदायको धार्मिक र सांस्कृतिक रूपमा गहिरो सम्बन्ध रहेको लाखे नाचमा बज्ने ढोल र झ्याम्टाको आवाज हरेक साँझ मन्थली बजारमा गुन्जिरहेका छन् । कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्ण र कंसको नाच प्रदर्शनपछि कृष्णले धनुष बान मार्फत कंसको वध गरेपछि लाखे नाचको समापन हुन्छ ।
दानवीबाट देवत्वमा परिणत भएको लाखेले बालबालिकाको रक्षा तथा महामारी, रोग व्याधि जस्ता सङ्कटबाट संरक्षण गर्ने दायित्व लिएको पौराणिक कथन रहिआएको छ । यही जनविश्वासका कारण लाखे नाच नेवारी समुदायको परम्परागत मौलिक संस्कृति नै बनेको छ ।
मन्थली बजारमा हरेक साँझ झ्याली र बाजाको तालमा दुई वटा लाखे मुखुण्डो लगाएर रङ्गीबिरङ्गी कपडासहित नाच्ने गरेका छन् । लाखे नाच हेर्न गएका बालबालिका तथा किशोर किशोरीहरूले ‘लाखे भूत’ भन्दै जिस्काउँदा लाखेले दौडिएर लखेट्ने र लाखेले पैसा मागेको जस्ता दृश्य रोचक देखिन्छ।
मन्थलीका नेवार समुदायले आफ्ना कला, संस्कृति र भेष भूषाको संरक्षण तथा जगेर्ना गर्न भन्दै नेवारी कला संस्कृति पहिचान बचाउ, संस्कृति सभ्यता कायम राखौँ भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
गत साउन २५ गतेबाट मन्थलीमा सुरु भएको नेवार समुदायको धार्मिक र सांस्कृतिक रूपमा गहिरो सम्बन्ध रहेको लाखे नाच कृष्णाष्टमीको भोलिपल्ट भदौ ११ गतेसम्म सञ्चालन हुने नेवा खल रामेछापका अध्यक्ष शेखरमान श्रेष्ठले बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो “लाखे नाच नेवारी समुदायको परम्परागत मौलिक संस्कृति हो । गत साउन २५ गतेदेखि हरेक साँझ मन्थली बजारका विभिन्न स्थानमा लाखे नाच भइरहेका छन् ।
नेवारी कला संस्कृति पहिचान बचाउ, संस्कृति सभ्यता कायम राखौँ भनेर हामी लागि परेका छौँ ।” साँझको समयमा लाखे नाच सहित धिमे नाच, रोपाइ जात्रा, लौरो नाच, नेवारी नित्य जस्ता कार्यक्रमहरू पनि सञ्चालन भइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
नेवा संस्कृति जोगाउन स्थानीय सरकारको सहयोग
मन्थलीका नेवार समुदायको संस्कृति जोगाउन मन्थली नगरपालिकाले पनि सहयोग गर्दे आएको छ । विगतका वर्षहरूमा नेवार समुदायको संकृतिसँग जोडिएका धिमे लगायतका प्रमुख बाजाहरू खरिदका लागि सहयोग गरेको नगरपालिकाले पछिल्ला वर्षहरूमा भने केही रकम नै छुट्टाउने गरेको छ ।
नेवा खल रामेछापका अनुसार मन्थलीका नेवार समुदायको कला संस्कृति पहिचान बचाउँदै संस्कृति सभ्यता कायम गराउनका लागि नगरपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा एक लाख रुपैयाँ बजेट दिएको थियो ।
चालु आर्थिक वर्ष २०८१÷०८२ मा पनि नगरले मन्थलीका नेवारी समुदायको परम्परागत मौलिक संस्कृतिलाई संरक्षणमा सहयोग पुगोस् भन्ने हेतुले एक लाख रुपैयाँ बजेट छुट्टाएको छ ।
सदरमुकाम मन्थलीमा मात्रै नभै नेवार समुदायको राम्रो बसोबास रहेका जिल्लाका अन्य ठाउँहरूमा पनि लाखे नाच निकालिन्छ । मन्थली नगरपालिका–८ चिसापानी, रामेछाप नगरपालिका–८ भँगेरी, खाँडादेवी गाउँपालिका–३ भिरपानी चिसापानी र गोकुलगंगा गाउँपालिका–२ ठोसेका नेवार समुदायले पनि परम्परागत रूपमा लाखे नाच निकाल्ने गरेका छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च