रामेछाप । रामेछापको मन्थली नगरपालिकाले पशुपालन र कृषि क्षेत्रमा उत्पादनका आधारमा अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ । दूध, मासु र कुखुराको अण्डामा आत्मनिर्भर उन्मुख रहको मन्थली नगरपालिकाले २०७६ सालदेखि दूध उत्पादनका आधारमा किसानलाई अनुदान प्रदान गर्दै आएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ बाट प्रति लिटर एक रुपैयाँका दरले दूध उत्पादक किसानलाई अनुदान दिन सुरु गरेको नगरले अहिले यसलाई बढाएर प्रति लिटर दुई रुपैयाँ पचास पैसाका दरले अनुदान दिइरहेको छ ।
Advertisement
नगरपालिकाले दूध उत्पादनमा अनुदान वितरण कार्यविधि २०७६ बनाएको छ । जस अनुसार दूध उत्पादन गर्ने कृषकहरूले आफूले उत्पादन गरेका दूध मन्थली नगरपालिकाभित्र दर्ता वा सूचिकृत भएका डेरी उद्योगबाट बिक्री वितरण गर्नुपर्छ । नगरमा दर्ता वा सूचिकृत भएका डेरी उद्योगमा बिक्री वितरण भएका दूधको अभिलेखका आधारमा किसानले अनुदान पाउँछन् ।
यो कार्यविधि अनुसार गएको आर्थिक वर्ष २०८०÷०८१ मा नगरपालिकाले झन्डै ३० लाख रुपैयाँ रकम दूध उत्पादनमा अनुदान कार्यक्रम मार्फत कृषकहरूलाई प्रदान गरेको छ ।
गत आर्थिक वर्ष ११ लाख ४८ हजार लिटर भन्दा बढी दूध डेरी उद्योगहरूबाट बिक्री वितरण भएको मन्थली नगरपालिका पशु सेवा उपशाखाका सहायक पशु विकास अधिकृत मुकुन्द कुमार खड्काले बताउनुभयो ।
यसरी बिक्री वितरण भएका दूधको प्रति लिटर दुई रुपैयाँ ५० पैसाका दरले हुन आउने रकम नगरको दूध उत्पादनमा अनुदान कार्यक्रम अनुसार किसानलाई प्रदान गरिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो“नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ बाट दूध उत्पादनका आधारमा किसानलाई अनुदान प्रदान गर्दै आएको छ । एक रुपैयाँबाट सुरु भएको अनुदान अहिले बढेर दुई रुपैयाँ पचास पैसा पुगेको छ । नगरको उत्पादनका आधारमा अनुदान कार्यक्रमले नगरभित्र दूधको उत्पादन वृद्धि भएको छ ।”
नगरमा दर्ता तथा सूचिकृत भएका डेरी उद्योग भन्दा बाहिर घर तथा होटेलमा बिक्री वितरण भएका दूधको अभिलेख नहुँदा अझै धेरै दूध उत्पादक कृषकहरू अनुदानबाट वञ्चित भएका उहाँको भनाइ छ ।
Advertisement
उहाँका अनुसार गत वर्ष अनुदान पाउने दूध उत्पादक कृषकहरूको अभिलेखलाई हेर्दा एक जना कृषकले साढे एक लाख रुपैयाँसम्म अनुदान प्राप्त गरेका छन् । नगरपालिकामा दूध उत्पादक किसान बढेकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा दूध उत्पादनमा अनुदान कार्यक्रमका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया