रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेख खर्कमा पहिरोले बस्ती बगाउँदा ६ जनाको ज्यान गएको छ । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
अविरल वर्षापछि शनिवार राति करिब ११ः४५ बजेको समयमा गाउँभन्दा माथिबाट खसेको पहिरोले लेख खर्कका ६ वटा घर बगाउँदा घरभित्र रहेका ११ जना मध्ये ६ जनाको लास निकालिएको र ४ जना अझै बेपत्ता रहेको दोरम्बा शैलुङ गाउँपालिका–३ का वडा सदस्य तुलप्रसाद कँडेलले बताउनुभयो । उहाँका अनुसार पहिरोमा पुरिएका एक जनाको भने जीवितै उद्धार गरिएको छ ।
Advertisement
पहिरोमा परी ३२ वर्षकी चण्डिका थापा मगर र उहाँका १८ महिनाका छोरा आमुस श्रेष्ठको ज्यान गएको छ । चण्डिकासँगै सो घरमा पुरिएकी अञ्जना पहरीको भने जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
पहिरोमा पुरिएका एकै परिवारका ५७ वर्षीय उर्मिला पहरी, ३० वर्षका सन्दीप पहरी, ११ वर्षका सन्तोष पहरी र ११ वर्षका विज्ञान पहरीको शव पनि निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो ।
Advertisement
प्रहरीका अनुसार पहिरोले घर बगाउँदा ९० वर्षकी पुड्की पहरी, करिब ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र २० वर्षकी विनीता पहरी बेपत्ता छन् । पहिरोमा बेपत्ता भएका ४ जनाको आइतबार अपराह्न ४ बजेसम्म खोजी गरिएको र अपराह्न ४ बजेबाट वर्षा भएकाले सोमबार फेरी खोजी गर्ने गरी खोजी कार्य बन्द गर्ने शैलुङ गाउँपालिका–३ का वडा सदस्य तुल प्रसाद कँडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो “पहिरोले बगाएको घरहरूको नाम निसाना छैन । तै पनि भेटिन्छ कि भनेर बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र स्थानीय मिलेर अपराह्न ४ बजेसम्मै खोज्यौँ । तर पनि बेपत्ता भएका ४ जनाको अत्तोपत्तो लागेन । अपराह्न ४ बजेबाट पानी पर्न थालेपछि सोमबार बिहानैदेखि पुनः खोजी गर्ने गरी खोजी कार्य रोकिएको छ ।”
अझै ६० वटा भन्दा बढी घरहरू उच्च जोखिममा
दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेख खर्कमा ६५ भन्दा बढी घर परिवारको बसोबास थियो । जसमा ६ वटा भन्दा बढी घरहरू माथिबाट खसेको पहिरोले बगाएको छ । बाकी रहेका अन्य घरहरु पनि पहिरोको उच्च जोखिममा छन् ।
बस्ती भन्दा माथिबाट ठुलो पहिरो गएकाले लेख खर्कका सबै घरहरू उच्च जोखिममा परेको दोरम्बा शैलुङ गाउँपालिका–३ का वडा सदस्य कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो “ लेख खर्कमा ६५ भन्दा बढी घर परिवारको बसोबास थियो ।
यसमा ६ वटा घर नाम निसाना नै नरहने गरी पहिरोले बगाइसक्यो । अरू बाकी रहेका ६० वटा भन्दा बढी घरहरू पनि पहिरोको उच्च जोखिममा रहेका रहेका छन् । बस्ती पुरै बग्न सक्ने अवस्था रहेकाले यहाँ अब बस्ती बस्न सक्ने अवस्था छैन ।”
प्रतिक्रिया