रामेछाप । रामेछापमा बाढी पहिरोका कारण घर भत्किएर समस्यामा परेकी एक पत्रकारलाई प्रेस चौतारी नेपाल रामेछापले आर्थिक सहयोग गरेको छ । अविरल वर्षाको कारण घर भत्किएर आफन्तको घरमा बस्दै आएकी पत्रकार झर्ना खड्काको परिवारलाई प्रेस चौतारी नेपाल रामेछापले आर्थिक सहयोग गरेको हो ।
चौतारीले सदस्यहरूको बिचबाट स्वैच्छिक सहयोग सङ्कलन गरी खड्कालाई ११ हजार ४ सय रुपैँया प्रदान गरेको छ । सङ्कलित रकम प्रेस चौतारी रामेछापले आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज नवराज पथिकले आइतबार खड्कालाई हस्तान्तरण गर्नुभयो ।
Advertisement
कार्यक्रममा प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठले आपत् परेको बेला एकाकार हुन संस्थाको तर्फबाट सहयोग गरिएको बताउनुभयो । उहाँले सहयोग सानो भए पनि अत्मियताको हिसाबले ठुलो भएको स्पष्ट पार्नुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय प्रतिनिधि, वाग्मती प्रदेश सदस्य, जिल्लाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । गत साउन १६ गतेको वर्षाको कारण खड्काको रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ मा रहेको घर भत्किएको थियो । घर भत्किए पछि खड्काको परिवार आफन्तको घरमा बस्दै आउनु भएको छ । सहयोगको लागि स्थानीय सरकारलाई बारम्बार अनुरोध गर्दा पनि कुनै सहयोग नपाएको खड्काले बताउनुभयो । पत्रकारहरूले गरेको सहयोगले आफ्नो आत्मबल बढेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया