रामेछाप। रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेकखर्कका पहिरो पीडितका बारेमा आवश्यक निर्णय लिन सोमबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्दै छ ।
पहिरो पीडितलाई राज्यले दिने राहत रकम प्रदान गर्ने, जोखिममा रहेका परिवारको व्यवस्थापन लगायतका बारेमा आवश्यक निर्णय लिन सोमबार बिहान ८ बजे जिल्ला विपद् व्यवस्थापन समितिको बैठक राखिएको प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समिति रामेछापकी संयोजक अनिता निरौलाले बताउनुभयो ।
Advertisement
उहाँले भन्नुभयो “ पहिरो पीडित बारे आवश्यक निर्णय लिन बिहान ८ बजे विपद् व्यवस्थापन समितिको बैठक राखिएको छ । राहत दिने बारे दोरम्बा शैलुङ गाउँपालिकाको आइतबार साँझ नै बैठक बसिसकेको भन्ने खबर आएको छ । सङ्घीय सरकार र प्रदेश सरकारबाट पीडितले पाउने राहत रकम मापदण्ड अनुसार हामी मृतकको परिवारलाई उपलब्ध गराउँछौँ।”
मुख्य कुरा जोखिममा रहेका बस्तीका मानिसहरूको सुरक्षित व्यवस्थापन रहेको उहाँले बताउनुभयो । अहिले जोखिममा रहेका बस्तीका मानिसहरूलाई सुरक्षित ठाउँमा सारिएको भए पनि पशु चौपाया लगायत अन्य कुराहरूको पनि तत्कालै व्यवस्थापन गर्न आवश्यक देखिएको उहाँले बताउनुभयो । शनिवार राति करिब ११ः४५ बजेको समयमा दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेकखर्कमा पहिरोले बस्ती बगाउँदा ६ जनाको ज्यान गएको छ । ४ जना अझै बेपत्ता छन् । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
प्रतिक्रिया