रामेछाप । मानव अधिकार संरक्षण सञ्जाल रामेछापले जिल्लाका विभिन्न स्थानका बाढी–पहिरो पीडितको आवश्यक व्यवस्थापन गरी नागरिकको जिउ धनको सुरक्षा गर्न माग गरेको छ ।
सञ्जालका अध्यक्ष पाण्डव प्रसाईँले बुधवार प्रेस विज्ञप्ति मार्फत सरोकारवाला निकायसँग यस्तो माग गर्नुभएको हो । सञ्जालले केही समय यता रामेछाप जिल्लामा भएका चोरी लगायतका विभिन्न घटना प्रति पनि सञ्जालको ध्यानाकर्षण भएको जनाउँदै बाढी पहिरोको घटनाबाट जन–धनको क्षति भएको विज्ञप्तिमा उल्लेख छ ।
Advertisement
दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा गएको पहिरोले ७ जनाको ज्यान गएको र ३ जना अझै बेपत्ता भएको उल्लेख गर्दै बस्तीका ६३ घर परिवार अहिले घरबार विहीन बनेका प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विद्यालयमा आश्रय लिएका उनीहरूको जीवन कष्टकर र असुरक्षित बनिरहेको र पीडितको पुनर्वासको व्यवस्था अझै हुन नसकेको विज्ञप्तिमा उल्लेख छ । यस्तै मन्थली नगरपालिका–१३ मिल्ती खोलामा आएको बाढीले ५ वटा घर बगाएको र एउटा घर पहिरोले भत्काएको जनाउँदै मिल्ती बजारमा अहिले पनि जोखिम भएका घरमा स्थानीय नागरिक बसोबास गरिरहेकाले यसबारे संवेदनशील हुन सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।
‘लगातारको वर्षाको कारण जिल्लाका धेरै बस्तीहरू पहिरोको जोखिममा छन्, जसले गर्दा कुनै पनि बेला ठुलो क्षति हुनसक्छ, केही समय यतादेखि जिल्ला सदरमुकाम मन्थली सहित जिल्ला भरी नै चोरीका घटना बढ्दै गएका छन्, सर्वसाधारणका गोठमा बाँधेका पशु वस्तु, घरमा भएका भाँडाकुँडा, सवारी साधन, धनमाल लगायत चोरी हुँदा नागरिकले असुरक्षाको महसुस गरिरहेका छन्’, प्रेस विज्ञप्तिमा भनिएको छ।
सञ्जालले नागरिकको जिउ ज्यान र धनमालको सुरक्षा मानव अधिकारको पहिलो सर्त भएको उल्लेख गर्दै यी घटनाहरूले जिल्लाको मानव अधिकार अवस्था प्रत्यक्ष प्रभावित भएको जनाएको छ । मानव अधिकारको यो गम्भीर विषयमा संवेदनशील हुन मानव अधिकार संरक्षण सञ्जाल रामेछापले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।
मानव अधिकार संरक्षण सञ्चालन जिल्लामा मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गर्दै आएको मानव अधिकारकर्मी र सो क्षेत्रमा क्रियाशील संस्थाहरूको साझा सञ्जाल हो । यो सञ्जालले रामेछाप जिल्लामा मानव अधिकार र सामाजिक न्याय स्थापनाको लागि सञ्जालले विगत लामो समयदेखि निरन्तर आवाज उठाउँदै आएको छ ।
प्रतिक्रिया