मेरा दिनहरू अत्यास लाग्दो भएका छन्,
मेरा रातहरू पीडादायी भएका छन्,
फगत, मेरो जीवन कोरा कागज सरी भएको छ।
घाम उदाएको पनि थाहा पाउँदिन म,
जून मुस्कुराएको पनि चाल पाउँदिन म।
दुनिया अति व्यस्त भएको बेला,
आफ्नै वरिपरिका कुराहरूमा अनभिज्ञ छु म।
Advertisement
पीडाले पिल्सिएको,
मेरा शरीरका जोर्नी जोर्नीहरू भन्छन्,
“एक पल त खुला रुन देऊ,
एकपल्ट त बेदना पोख्न देऊ।”
विवश छु, लाचार छु म,
प्रस्फुटन हुन लागेका आवाजहरूको,
घाँटी निमोठ्न।
किनभने,
मलाई पनि बाँच्नु छ,
मनलाई पलपल मारेर।
Advertisement
त्यसैले त,
औषधिरूपी प्यालाहरू लिएर बसेको छु,
कहिले नसाबाट,
कहिले मुख बिन्दुबाट।
मलाई पनि त रहर थियो,
यो चराचर जगतमा खुलेर विचरण गर्न,
जीवनमा रंगीनता भर्न,
थोरै खुसी आफ्नोलागि,
अलिक धेरै अरूको लागि बाँड्न।
Advertisement
तर,
आफ्नै जीवनलाई पार लगाउने,
कोशिश गर्दा गर्दै टुटेको म।
केवल सपनाको,
दूरदर्शितामा हराउन विवश छु,
बिलुप्त छु।
त्यसैले,
म भगवानको अस्तित्वमा औंला उठाउने,
चेष्टा गर्छु।
के तिमी छौ त यहाँ?
के तिम्रो दृष्टि सकुशल छ त?
हे ईश्वर!
यदि तिमी छौ भने,
मधुर दृष्टि यता पनि लगाउ,
पिल्सिएका यी बेदनामा थोरै मलम लगाउ।
एकपटक मर्नै जन्मेको,
नश्वर शरीर यो,
पलपल नमार।
हेर्नु ईश्वर,
मेरा पीडाहरूलाई कति झूटा सान्त्वना दिऊँ म?
कति बाल लोरी सुनाऊँ म,
जसको कुनै गन्तव्य छैन।
आऊ, ईश्वर,
आज तिमी र म एउटा करार गरौं।
मेरो जीवनलाई दाउमा राख्छु,
थाहा छ,
यसको विजेता तिमी नै हौ।
कृपा गर,
यो भिखारीलाई,
पीडाले तड्पिएको,
विवश जीवित लाशलाई।
आफ्नै शरणमा लैजाऊ,
सबैबाट टाढा,
धेरै टाढा।
चिरनिन्द्रामा सदासदा लागि,
जहाँ म यो असह्य पीडाबाट छुटकारा पाउन सक्छु,
निर्जीवतामा अस्तित्व खोज्छु।



























प्रतिक्रिया