दोरम्बा शैलुङ गाउँपालिका–१ मा पहिरोको भयः ४८ घर जोखिममा, ४३ परिवारको त्रिपालमुनिको बास

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ का विभिन्न स्थानमा गरी ४८ भन्दा बढी घर परिवार पहिरोमा जोखिममा परेका छन् । भदौ ८ गते रातिको अविरल वर्षा पछि गएको पहिरोले सो वडाका विभिन्न बस्तीमा गरी ४८ घर परिवार जोखिममा परेका हुन् ।

दोरम्बा शैलुङ गाउँपालिका–१ स्थित साबिकका वडा नं ६ पात्लेमा ३ घर, मङ्सिरेमा ६ घर, साबिक वडा नं ७ नागीमा २ घर, साबिक वडा नं ८ मझुवा सल्लेटार स्थित थामी बस्तीमा ३२ घर, साबिक वडा नं ५ बालुवा थामी बस्तीमा ३ घर र साबिक वडा नं ४ थामी बस्तीमा २ घर परिवार जोखिममा रहेका दोरम्बा शैलुङ गाउँपालिका–१ का वडा अध्यक्ष प्रेमकुमार लामाले बताउनुभयो ।

Advertisement

अहिले मझुवा सल्लेटार स्थित थामी बस्तीमा ३२ घर, पात्लेका ३ घर, मङ्सिरेका ६ घर र नागीका २ घर गरी ४३ घरका परिवारको त्रिपालमुनिको बास रहेको उहाँले बताउनुभयो ।
पहिरोका कारण धेरै परिवारको त्रिपालमुनिको बसाई हुँदा पनि गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समिति लगायत सरोकारवाला निकाय बेखबर जस्तै रहेको वडा अध्यक्ष लामाको गुनासो छ ।

उहाँले भन्नुभयो “सबैको ध्यान जान मानवीय क्षति हुनुपर्ने रहेछ । यहाँ मान्छेको मृत्यु भएन तर घरहरू बस्नै नमिल्ने हुँदा सबै त्रिपालमुनिको बसिरहेका छन् । केही घरका परिवार चिहान डाँडा, केही परिवार सडकमा र केही परिवार बारीका पाटामा त्रिपाल टाँगेर बसेका छन् । यसबारेमा जति भने पनि सरोकारवाला निकायको ध्यान गएन ।”

Advertisement

पहिरोले विस्थापित भएका घरका मानिसहरूलाई केही गाउँपालिकाले उपलब्ध गराएको र केही गाउँमै सङ्कलन गरिएको त्रिपालमा बस्ने व्यवस्था गरिएको वडा अध्यक्ष लामाले बताउनुभयो । जति भन्दा पनि सरोकारवाला निकायले खासै वास्ता नगरेपछि अब चन्दा सङ्कलन गरेरै भए पनि अस्थायी टहरा निर्माण गर्ने भन्ने वडा कार्यालयले सोच बनाएको उहाँले बताउनुभयो ।

भदौ ८ गते रातिको वर्षापछि आएको पहिरोका कारण मझुवा सल्लेटार स्थित थामी बस्तीका ३२ परिवारको त्रिपालमुनिको बास भएको स्थानीय पीडित भिमबहादुर थामीले बताउनुभयो । यहाँका पहिरो पीडितको बिजोग हुँदा पनि पीडितको व्यवस्थापनका लागि गाउँपालिका लगायत सम्बन्धित निकायको खासै ध्यान नदिएको उहाँको गुनासो छ ।

Advertisement

पहिरो पीडितहरूका अनुसार अहिलेसम्म दोरम्बा शैलुङ गाउँपालिकाले पीडितका लागि ८ बोरा चामल, दुई बोरा चिउरा र दुई बक्सा खाने तेल र केही थान त्रिपाल उपलब्ध गराएको छ । यस बाहेक रेडक्रस रामेछापले केही ठाउँका पीडितलाई त्रिपाल लगायतका केही राहत सामाग्री उपलब्ध गराएको छ ।

दोरम्बा शैलुङ गाउँपालिका–१ का पहिरो पीडितलाई सामान्य राहत प्रदान गर्ने र अस्थायी रूपको बसोबासको व्यवस्थापन वडा तथा गाउँपालिकाले गरिरहेको भन्ने जानकारी रहेको रामेछापकी प्रमुख जिल्ला अधिकारी एवं जिल्ला स्तरीय विपद् व्यवस्थापनकी समिति संयोजक अनिता निरौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो “दोरम्बा शैलुङ गाउँपालिका–१, २ र ३ नम्बर वडाका विभिन्न बस्ती पहिरोको जोखिममा छन् भन्ने आएको छ । पहिरोको जोखिम देखिएका बस्तीहरूको सम्बन्धमा विशेषज्ञ सहितको अध्ययन टोली खटाई उक्त बस्तीहरूको दीर्घकालीन व्यवस्थापनको सम्बन्धमा अध्ययन गर्न आवश्यक हुन्छ । यस कारण आवश्यक व्यवस्थापनको लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गरेका छौँ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च