रामेछाप । रामेछापको मन्थली नगरपालिकाले निर्धारण गरेको नयाँ बहाल कर आगामी पुस महिनाबाट कार्यान्वयनमा आउने भएको छ । नगरपालिकाको आउने पुसमा हुने हिउँदे अधिवेशनमा नयाँ बहाल करको दर सम्बन्धी प्रतिवेदन प्रस्तुत हुने र त्यसपछि आवश्यक प्रक्रिया पुरा गरी कार्यान्वयनमा ल्याउने नगरपालिकाको तयारी रहेको नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो “नगरले नयाँ बहाल कर सम्बन्धी आवश्यक अध्ययन गरी प्रतिवेदन तयार परिसकेको छ । यसका बारेमा सरोकारवाल निकायसँग पनि छलफल भइरहेकै छ । अब नगरको आगामी हिउँदे अधिवेशनमा प्रस्तुत गर्ने र कार्यान्वयनमा लैजाने तयारी छ ।”
Advertisement
नगरपालिकाले तयार पारेको नयाँ बहाल कर कार्यान्वयनमा आएपछि व्यवसायीहरू थप मारमा पर्छन् भन्ने जस्ता अपव्याख्या गरिएकाले अहिले केही समस्या देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “घर बहाल कर घर धनीले नै तिर्ने हो । यसमा कुनै दुबिधा छैन । तर यहाँ घर बहाल कर पनि भाडामा रहेका व्यवसायीले नै तिर्नुपर्छ भन्ने जस्ता अपव्याख्या गरियो । जसका कारण केही समस्या भयो । तर अहिले सबैले बुझिसकेका छन् । अब नयाँ बहाल कर कार्यान्वयनमा जान्छ ।”
यहाँका जाने बुझेका केही मान्छेहरूले नै नगरपालिकाले तयार पारेको बहाल करका बारेमा नकारात्मक प्रचार तथा व्याख्या गरेपछि समस्या आएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो“ केही अमुक मान्छेहरूले नगरको नयाँ बहाल कर सम्बन्धी प्रतिबेनलाई विवादित बनाए । घरधनीले बहालमा बस्नेहरूसँग लिएको बहालको केही निश्चित पैसा राज्यलाई तिर्नुपर्छ । यो यहाँ मात्रै होइन देश भरी यस्तै व्यवस्था छ। यसलाई लिएर केही आंशिक रूपमा आलोचनात्मक टिप्पणी भए । तर कालान्तरमा सबैले स्वीकार गर्नुको अर्को विकल्प छैन ।” मन्थली नगरपालिका मन्थली बजारलाई कसरी हुन्छ राम्रो र व्यवस्थित मन्थली बनाउन लागि परेकाले यहाँ बसोबास गर्ने नागरिक, यहाँका घरधनी व्यवसायीहरूले पनि आ आफ्नो दायित्व पुरा गर्नुपर्ने उहाँको भनाइ छ ।
मन्थली नगरपालिकाले गएको साउन दोस्रो हप्ता नयाँ बहाल कर सम्बन्धी प्रतिवेदन तयार पारेको थियो । वरिष्ठ शाखा अधिकृत दीपक सुवेदीको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले ‘क’, ‘ख’,‘ग’,‘घ’ र ‘ङ’ मा वर्गीकरण गरेर तयार पारेको प्रतिवेदन सार्वजनिक भएको थियो ।
Advertisement
रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन कुमार थापा मगर, शाखा अधिकृत गोविन्द कट्टेल, कानुन अधिकृत सुदर्शन कुमार राय, सब –इन्जिनियर होमबहादुर खड्का, अमिन सिताराम खत्री र वरिष्ठ सहायक दील कुमार मानन्धर सदस्य रहेको उक्त समितिले तयार पारेको उक्त प्रतिवेदन सार्वजनिक भएपछि मन्थलीका घर धनी र भाडामा बसेका व्यवसायीहरूलाई मारमा पार्ने गरी तयार पारिएको भन्दै मन्थलीका घरधनी तथा व्यवसायीहरूले विरोध गरेका थिए ।
यस्तो छ नगरपालिकाले तयार पारेको बहाल कर सम्बन्धी प्रतिवेदन
Advertisement
प्रतिक्रिया