रामेछाप। ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छाराम) लाई गृह जिल्ला रामेछापमा अवरोध गरिएको छ । काँग्रेस रामेछापका सभापति समेत रहनुभएका राज्यमन्त्री तामाङलाई सोमबार सदरमुकाम मन्थलीमा आफ्नै सचिवले कालो झन्डा देखाउँदै तय भएको कार्यक्रममा समेत अवरोध गरेका छन् । १११ औँ वि.पी. जयन्तीका अवसरमा रामेछाप काँग्रेसले सोमबार विभिन्न कार्यक्रम तय गरेको थियो ।
पार्टीले तय गरेको कार्यक्रम अनुसार राज्यमन्त्री तामाङले सोमबार बिहान सदरमुकाम स्थित वि.पी.को सालिकमा माल्यार्पण गरी विभिन्न अस्पतालहरूमा भर्ना भएर बसेका बिरामीहरूलाई फलफूल वितरणको कार्यक्रममा सहभागी भएका थिए ।
तामाकोशी अस्पताल र दिल श्री मेडिकल हलमा रहेका बिरामीलाई फलफूल वितरण गरी रामेछाप सामुदायिक अस्पतालमा आएका राज्यमन्त्री तामाङलाई काँग्रेस रामेछापका सचिव दीपक खड्काले कालो झन्डा देखाएर विरोध गरे । कालो झन्डा देखाउने क्रममा तनावको अवस्था सिर्जना भएपछि राज्यमन्त्री तामाङले रामेछाप सामुदायिक अस्पतालका बिरामीलाई फलफूल वितरण गर्न सकेनन् ।
Advertisement
रामेछाप सामुदायिक अस्पतालका बिरामीलाई फलफूल वितरण नगरी राज्यमन्त्री तामाङ मन्थली अस्पताल हानिए । सचिव खड्काको समुहलाइृ कालो झन्डा देखाउन नदिन बिहानैदेखि मन्थली बजारमा ठुलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । परिचालित सुरक्षाकर्मी र काँग्रेसका नेता तथा कार्यकर्ताको सचिव खड्काको कालो झन्डा देखाउने लगायतका विरोधका कार्यक्रमलाई रोक्ने प्रयास असफल भयो । सचिव खड्काको समूहले राज्यमन्त्री तामाङलाई कालो झन्डा देखाएरै छाडे ।
कालो झन्डा देखाउने क्रममा मन्थलीको देवकोटा चोक केही समय तनावग्रस्त बनेको थियो । सचिव खड्काले आइतबार नै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री समेत रहेका सभापति तामाङ पार्टी पदाधिकारीहरूको मर्यादामा समेत असर पर्ने कार्य गरी एकलौटी तवरबाट चलेको भन्दै सभापति तामाङ सहभागी हुने १११ औँ वि.पी. जयन्ती कार्यक्रममा अवरोध गर्ने चेतावनी दिएका थिए ।
Advertisement
आइतबार एक प्रेस विज्ञप्ति निकालेर सचिव खड्काले सभापति तामाङ विना सल्लाह एकलौटी ढङ्गबाट काम गर्ने र सचिवको अधिकार भित्रको कार्यमा हस्तक्षेप गरेको भन्दै पार्टीले तय गरेको कार्यक्रमको विरुद्धमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी दिएका थिए ।
प्रतिक्रिया