रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ स्थित तीन धारे खोलामा रहेको झोलुङ्गे पुलमा पहिरो खसेपछि सो वडाका धेरै गाउँका नागरिक समस्यामा परेका छन् ।
भदौ १८ गते राति अविरल वर्षासँगै खसेको पहिरोले दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको साबिकको वडा नं ६ र ८ को सिमाना भएर बग्ने तीन धारे खोलामा रहेको झोलुङ्गे पुलमा पूर्ण रूपमा क्षति गरेको छ । जसका कारण उक्त पुलबाट आवतजावत गर्न सक्ने अवस्था छैन ।
Advertisement
पहिरोले झोलुङ्गे पुलमा क्षति गरेपछि धेरै गाउँका नागरिकलाई आवतजावतमा समस्या भएको स्थानीय समेत रहनुभएका दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका वडा सदस्य मङ्गले थामीले बताउनुभयो । पुलबाट हिँडडुल गर्न सक्ने अवस्था नहुँदा धेरै गाउँ बस्तीका बालबालिकालाई विद्यालय जान र ती गाउँका नागरिकलाई वडा कार्यालय, सदरमुकाम मन्थली लगायतका ठाउँमा जान समस्या भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “तीन धारे खोलाको झोलुङ्गे पुलमा पहिरो खस्दा सुर्के हुँदै मजुवा, सलेटार, छाँगा, गुफा, घले डाँडा र शैलुङ जाने बाटो बाटो बन्द छ । विभिन्न गाउँबाट सुर्के देउराली माध्यमिक विद्यालय पढ्न आउने विद्यार्थी बढी मारमा छन् । धेरै गाउँका नागरिकहरू वडा कार्यालयसम्म पनि आउन सकेका छैनन् ।”
दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवामा यो वर्ष वर्षाले ठुलो क्षति गरेको छ । भदौ ८ गते राति वर्षासँगैको पहिरोले यहाँका मझुवा, सल्लेटार, पात्ले, मङ्सिरे लगायतका गाउँमा ठुलो क्षति पु¥याएको छ । बस्ती नै पहिरोको जोखिममा परेपछि यी गाउँका ४३ परिवार भदौ ९ गतेदेखि चिहान डाँडा, सडक र बारीमा त्रिपाल टाँगेर सामूहिक रूपमा बस्दै आएका छन् ।
प्रतिक्रिया