रामेछाप । रामेछाप जिल्लाको विभिन्न स्थानमा चोरी गरेको आरोपमा पक्राउ परेका ४ जना कारागार चलान भएका छन् । रातको समयमा मन्थली नगरपालिका–१ स्थित विभिन्न व्यक्तिहरूको घरमा चोरी गरेको आरोपमा पक्राउ परेका ४ जनालाई रामेछाप जिल्ला अदालतले बिहीबार पुर्पक्षका लागि जिल्ला कारागार पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो ।
पुर्पक्षका लागि कारागार चलान हुनेमा मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–१ लाल झाडी घर भई हाल मन्थली नगरपालिका–१ बसपार्क बस्ने ४५ वर्षका सरोज कुमार विश्वकर्मा, मन्थली नगरपालिका–१ बसपार्क बस्ने ३४ वर्षका हर्कबहादुर भुजेल, सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका–२ भिमस्थानका ४५ वर्षका नरेश लामा तामाङ र धनुषा जिल्ला मिथिला नगरपालिका–४ पुष्पलपुरका वर्ष ३० का धनराज बमजन रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
उनीहरूमाथि साउन ३१ गते मध्य राति मन्थली नगरपालिका–१ स्थित वीरबहादुर तामाङको घर फोरेर गरगहना, नगद तथा भाडा वर्तन चोरी गरेको आरोप छ । त्यसै गरी गत असार १५ गते राति मन्थली नगरपालिका–१ खादवारी स्थित यमबहादुर थापाको घरको मूल ढोकामा राखिएको दुई वटा पित्तलको गाग्री र दुई वटा तामाको कलश चोरी गरेको आरोप छ । रामेछाप प्रहरीले एक महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा चोरी गरेको आरोपमा दुई दर्जन भन्दा बढी व्यक्तिहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया