रामेछाप । रामेछाप जिल्लाको विभिन्न स्थानमा चोरी गरेको आरोपमा पक्राउ परेका ७ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । मन्थली नगरपालिकामा विभिन्न व्यक्तिको घरमा चोरी गरेको आरोपमा पक्राउ परेका ७ जनालाई रामेछाप जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि जिल्ला कारागार रामेछाप डाँडा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–१ लालझाडी घर भई हाल मन्थली नगरपालिका–१ बसपार्क बस्ने ४५ वर्षका सरोज कुमार विश्वकर्मा, मन्थली नगरपालिका–१ बसपार्क बस्ने ३४ वर्षका हर्कबहादुर भुजेल, सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका–२ भिमस्थानका ४५ वर्षका नरेश लामा तामाङ र धनुषा जिल्ला मिथिला नगरपालिका–४ पुष्पलपुरका ३० वर्षका धनराज बमजन रहेका छन् ।
Advertisement
उनीहरूमाथि साउन ३१ गते मध्य राति मन्थली नगरपालिका–१ स्थित वीरबहादुर तामाङको घर फोरेर गरगहना, नगद तथा भाडा वर्तन चोरी गरेको आरोप छ । त्यसै गरी गत असार १५ गते राति मन्थली नगरपालिका–१ खादवारी स्थित यमबहादुर थापाको घरको मूल ढोकामा राखिएको दुई वटा पित्तलको गाग्री र दुई वटा तामाको कलश चोरी गरेको आरोप छ ।
यस्तै, साउन ३१ गते दिउँसो मन्थली नगरपालिका–४ सालु सामलनाथ स्थित सोमबहादुर खत्री घरबाट मोबाइल तथा रकम चोरी गरेको आरोपमा पक्राउ परेका सर्लाही जिल्ला ब्रम्हापुरी नगरपालिका–६ की ४० बर्सिया कुसुम कुमारी, सोही स्थानकी १९ बर्सिया सुनिता कुमारी र भारतको विहार दोस्तीयाथान–७ का ३२ वर्षका तपेश्वर महतोलाई अदालतको आदेशपछि जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ । रामेछाप प्रहरीले झन्डै एक महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा चोरी गरेको आरोपमा दुई दर्जन भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया