रामेछाप । रामेछापमा ११ जनामा डेंगी सङ्क्रमण भएको छ । साउनदेखि हालसम्मको अवधिमा तीन वटा पालिकामा गरी ८ जना पुरुष र ३ जना महिलामा डेंगी सङ्क्रमण भएको जनस्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार यो अवधिमा रामेछाप नगरपालिकामा ७ जना, मन्थली नगरपालिकामा ३ जना र खाँडादेवी गाउँपालिका एक जनामा डेंगी सङ्क्रमण भएको छ । डेंगी सङ्क्रमण पुष्टि भएका सबै जना उपचार पश्चात् निको भएर घर फर्किसकेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार ८ वटा पालिका रहेको रामेछापमा सुनापति, दोरम्बा शैलुङ, उमाकुण्ड, गोकुलगंगा र लिखुतामाकोशी गाउँपालिकामा अहिलेसम्म डेंगी सङ्क्रमण देखिएको छैन ।
Advertisement
अहिले डेंगी सङ्क्रमण भए नभएको परीक्षण गर्ने किट जनस्वास्थ्य कार्यालयले उपलब्ध गराइरहेको र शङ्कास्पद देखिएका बिरामीहरूलाई स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूले परीक्षण गरिरहेको जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार साहले बताउनुभयो ।
उहाँले भन्नुभयो“ अहिले पनि डेंगीको सङ्क्रमणको जोखिमता कायमै छ । त्यसैले आवश्यक सावधानी अपनाउन जनस्वास्थ्य कार्यालय रामेछापले आग्रह गरेको छ । डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । जमेको पानी, फोहोरका कारण लामखुट्टे फैलिन्छ । त्यसैले घर वरिपरि पानी जम्ने खाल्डो छ भने पुर्न र घर वरपरको सरसफाइमा ध्यान दिन आग्रह गरेका छौँ ।”
मन्थलीमा डेंगी रोग रोकथामका लागि सरसफाइ अभियान
जिल्लामा डेंगी रोग सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले सचेतना सहित सरसफाइ अभियान सुरु गरेको छ । नगरपालिकाले आइतबार मन्थली बजार क्षेत्रमा डेंगी रोग नियन्त्रण र रोकथामको लागी लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने सरसफाइ अभियान र जनचेतना मूलक कार्यक्रम सञ्चालन गरेको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाँलले बताउनुभयो ।
उहाँले भन्नुभयो“मन्थली नगरपालिकामा हालसम्म ३ जनामा डेंगी सङ्क्रमण भएको छ । सङ्क्रमित तीनै जना उपचार पश्चात् घर फर्किसकेका छन् । तर डेंगी रोग सङ्क्रमणको जोखिम अझै छ । त्यसैले मन्थली नगरपालिकाले डेंगी रोगबाट बच्नका लागि ठाउँ ठाउँमा जनचेतना मूलक सन्देशहरू सञ्चारमाध्यम र समुदाय स्तरमा बजाउने र लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिरहेको छ ।”
१४ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरूलाई डेंगी रोग नियन्त्रण र रोकथामको लागी लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्नको लागी सरसफाइ अभियान र जनचेतना मूलक कार्यक्रम सञ्चलन गर्न नगरपालिकाले निर्देशन दिइएको स्वास्थ्य शाखा प्रमुख फुयाँलले बताउनुभयो । ‘डेंगी रोग के हो?, यो रोग कसरी लाग्छ, यो रोगका लक्षणहरु रु के के हुन्? यो रोग लागेमा के गर्ने, यो रोगबाट बच्नका लागि के गर्नुपर्छ जस्ता कुराहरू उल्लेख गरिएका पोस्टर तथा वोर्डहरु ठाउँ ठाउँमा राखिएको छ’,उहाँले भन्नुभयो ।
Advertisement
प्रतिक्रिया