रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रीतिका एक ११ वर्षीय बालक खर्च अभावले उपचारमा समस्या भएको छ। प्रीतिका लीलाबहादुर सुनुवार र मनमाया सुनुवारका छोरा नवराज सुनुवारको दुवै मिर्गौलाले काम नगर्ने र फोक्सोमा पानी जम्ने समस्या भएपछि कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।
छोराको उपचारको क्रममा ९ लाख रुपैयाँ बढी खर्च भइसकेको लीलाबहादुरले बताउनुभयो । उपचारको लागि अझै १९ लाख बढी खर्च लाग्ने चिकित्सकहरूले बताएका लीलाबहादुरले जानकारी दिनुभयो । ऋण, धन गरेर ९ लाख बढी खर्च गरिएको र अझै १९ लाख बढी खर्च लाग्ने भनेकाले उपचारमा लाग्ने खर्चको अभाव भएको लीलाबहादुरले बताउनुभयो । छोराको उपचार खर्चमा सहयोग गरिदिन लीलाबहादुरले सबैसँग आग्रह गर्नुभएको छ ।
यसैबिच मिर्गौला पीडित बालकको उपचारका लागि उमाकुण्ड गाउँपालिकाले ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । गाउँ कार्यपालिका बैठकले बालकको उपचारको लागि ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनुभयो । उपचारको लागि ठुलो रकम खर्च लाग्ने भएपछि सुनुवार परिवारले आर्थिक सहयोगको लागि अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया