रामेछाप । नेपालको संविधान २०७२ जारी भएको दिनको सम्झनामा रामेछाप जिल्लामा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । संविधान दिवस २०८१ को अवसरमा जिल्ला सदरमुकाम लगायत सबै स्थानीय तहमा विभिन्न रचनात्मक क्रियाकलापहरू सञ्चालन भइरहेका छन् ।
संविधान दिवस मूल समारोह समिति रामेछापले संविधान दिवसलाई सव्य र भव्य रूपमा हर्षोल्लासका साथ मनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने निर्णयहरू गरेको छ । सोही निर्णय अनुसार सोमबार जिल्ला समन्वय समितिको प्राङ्गणमा रक्तदान कार्यक्रम भएको थियो भने आकाशे स्थित कभर्डहलमा मन्थली अस्पतालका महिला कर्मचारी र मन्थली माविका कक्षा ११ र १२ मा अध्ययनरत छात्राहरूबिच मैत्रीपूर्ण भलिबल खेल भएको थियो ।
संविधान दिवसका मङ्गलवार पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शान्तिदिप युवा क्लब मन्थली लगायतका टिम्मकाबिच मैत्रीपूर्ण भलिबल खेल भएको छ ।
जिल्लामा विद्यार्थीहरूको संविधान प्रतिको बुझाइमा स्पष्टता ल्याउन सबै स्थानीय तहहरूले आफ्नो स्थानीय तह विशेष विषयमा केन्द्रित भई विद्यालय स्तरमा अन्तरक्रिया, वक्तृत्वकला प्रतियोगिता गराउने, जिल्ला खेलकुद विकास समितिको नेतृत्वमा मैत्रीपूर्ण भलिबल र म्युजिकल चियर सहित १६ वर्ष मुनीको फुटबल खेल आयोजना गरी मनाउने निर्णय भए अनुसारका कार्यक्रमहरू सञ्चालन भइरहेको संविधान दिवस मूल समारोह समिति रामेछापले जनाएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ मनाउन असोज २, ३ र ४ गते तीन दिनसम्म जिल्लाका सबै कार्यालय र आम नागरिकहरुको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्वलन गर्ने जस्ता कार्यक्रम सञ्चालन हुने जिल्ला समन्वय समिति रामेछापकी प्रमुख एवं संविधान दिवस मूल समारोह समिति रामेछापकी संयोजक चिना खड्काले बताउनुभयो ।
प्रतिक्रिया