रामेछाप । हकवाला पहिचान हुन नसक्दा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्क पहिरोमा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले अझै राहत रकम प्रदान गर्न सकेको छैन ।
पहिरोमा परि ज्यान गुमाएका ५७ वर्षीय उर्मिला पहरी र ११ वर्षका विज्ञान पहरीको अझै हकवाला पहिचान हुन सकेको छैन । यसअघि हकवाला पहिचान हुन बाकी पहिरोमा बेपत्ता रहेका ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र खुट्टाको पाइताला मात्रै फेला परेको २३ वर्षकी बिन्दा पहरीको भने हकवाला पहिचान भएको छ ।
बुधवार हकवाला पहिचान पश्चात् विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०७७ अनुसार सङ्घीय सरकार मार्फत उपलब्ध हुने राहत रकम पठाइएको जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले जनाएको छ ।
सङ्घीय सरकारको विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०७७ अनुसार विपद् जन्य घटनामा परी कुनै पनि परिवारको एक जनाको मृत्यु भएमा दुई लाख रुपैयाँ सङ्घीय सरकारको तर्फबाट राहत रकम पाउँछन् । त्यसै गरी एउटै परिवारको एक भन्दा बढीको मृत्यु भएका प्रति मृतक एक लाख रुपैयाँ राहत रकम थप हुँदै जाने व्यवस्था छ ।
Advertisement
सोही मापदण्ड अनुसार बुधवार जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले बेपत्ता दुई जना र खुट्टाको पाइताला मात्रै फेला परेको एक जनालाई गरी सङ्घीय सरकारले प्रदान गर्ने पाँच लाख रुपैयाँ राहत रकम प्रदान गरेको हो । उनीहरूले प्रदेश सरकारबाट प्रति व्यक्ति एक लाख रुपैयाँ प्राप्त हुने राहत रकम भने प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० अनुसार बेपत्ता भएको तीन महिनापछि मात्रै प्राप्त गर्ने छन् ।
यो सहित पहिरोमा ज्यान गुमाएका ६ जना र बेपत्ता २ जना मध्ये हालसम्म ८ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइसकिएको र बाँकी २ जना मृतकको परिवारलाई भने मापदण्ड अनुसारको हकवाला पहिचान हुन नसक्दा राहत रकम प्रदान गर्न समस्या भएको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति रामेछापका सदस्य सचिव किसान न्यौपानेले बताउनुभयो ।
पहिरोमा परी ज्यान गुमाएका ५७ वर्षीय उर्मिला पहरी, ११ वर्षका विज्ञान पहरीको मापदण्ड अनुसार हकवाला पहिचान हुन नसक्दा राहत रकम दिन समस्या भएको उहाँले बताउनुभयो । उनीहरूलाई पनि मापदण्ड अनुसार स्थानीय तहबाट हकवाला पहिचान भएर आएपछि तत्काल राहत रकम उपलब्ध गराइने उहाँले बताउनुभयो ।
उहाँका अनुसार पहिरोमा परी ज्यान गुमाएकी ७५ बर्सिया पुड्की पहरीको परिवारले सङ्घीय कोषबाट दुई लाख र प्रदेश कोषबाट एक लाख गरी तीन लाख रुपैयाँ राहत रकम पाएका छन् ।
Advertisement
त्यसै गरी ३० वर्षका सन्दीप पहरी र ११ वर्षका सन्तोष पहरीको परिवारले सङ्घीय कोषबाट तीन लाख र प्रदेश कोषबाट दुई लाख गरी पाँच लाख रुपैयाँ, ३२ वर्षकी चण्डिका थापा मगर र १८ महिनाका आमोष श्रेष्ठको परिवारले सङ्घीय कोषबाट तीन लाख र प्रदेश कोषबाट दुई लाख गरी पाँच लाख रुपैयाँ राहत रकम पाएका छन् ।
दोरम्बा शैलुङ्ग गाउँपालिका–३ लेखर्क स्थित पहरी गाउँमा गत भदौ ९ गते बिहानी पख अविरल वर्षा पछिको पहिरोमा पुरिएर ११ जना बेपत्ता भएका थिए । जसमध्ये ७ जनाको शव भेटिएको थियो भने एक जनाको खुट्टाको पाइताला मात्रै भेटिएको थियो । एक जनाको जीवितै उद्धार गरिएको थियो । पहिरोमा अझै दुई जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रतिक्रिया