रामेछाप । बागमती प्रदेश सांसद आनन्दकुमार श्रेष्ठले नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनेको अहिलेको सरकारले वर्तमान संविधानमा रहेका त्रुटिहरूलाई सच्याएर अझै प्रगतिशील र अग्रगामी बनाउने बताउनुभएको छ ।
बिहीबार संविधान दिवस मूल समारोह समिति रामेछापको आयोजनामा सदरमुकाम मन्थलीमा भएको संविधान दिवस तथा राष्ट्रिय दिवसको समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । बागमती प्रदेश पर्यटन तथा वातावरण समिति सभापति समेत रहनुभएका श्रेष्ठले संविधानमा रहेका त्रुटिहरूलाई सच्याउन सर्वपक्षीय योगदानको आवश्यकता रहेको बताउनुभयो ।
Advertisement
उहाँले भन्नुभयो“आज संविधान जारी भएको ९ वर्ष पूरा भएर दश वर्ष लागेको छ । यो अवधिमा संविधान कार्यान्वयनका सिलसिलामा थुप्रै कमीकमजोरी हरू र थुप्रै उपलब्धिहरू देखिएका छन् । उपलब्धिहरूको रक्षा गर्दै संविधानमा रहेका कमीकमजोरीलाई हटाउँदै वा संशोधन गर्दै समृद्ध नेपाल बनाउने महान् अभियानमा लाग्नुपर्छ । वर्तमान सरकारको नेतृत्व गरिरहेका राजनीतिक दलहरूले यो अभियानको नेतृत्व गर्छ।”
संविधानमा रहेका कमजोरीहरूलाई हटाउँदै उपलब्धिहरूको रक्षा गर्दै अझै प्रगतिशील ढङ्गले अगाडी बढ्ने अग्रगामी संविधान बनाउने अभियानमा अहिलेको सरकार लागिरहेको उहाँको भनाइ छ ।
संविधान संशोधनका विषयलाई लिएर वर्तमान सरकारप्रति कुनै पनि शङ्का उपशङ्काहरु नगर्न सबैलाई उहाँको आग्रह छ । नेपाली जनताको सात दशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको र यसले नागरिकहरूको समृद्धिका निम्ति, स्वच्छ एवं निष्पक्ष न्यायका निम्ति, निष्पक्ष सेवा प्रवाहका निम्ति मार्ग प्रशस्त गरेको उहाँले बताउनुभयो । अहिलेको संविधानलाई अझै व्यवस्थित हिसाबले अगाडी लैजानका निम्ति, यसको प्रभावकारी कार्यान्वयनका माध्यमबाट नागरिकलाई व्यवस्थित राज्य समृद्ध राष्ट्र निर्माण गर्ने अभियान स्वरूप संविधान दिवस मनाइएको उहाँले बताउनुभयो । उहाँले यो संविधानको मूल मन्त्रलाई टेकेर संविधानले दिएको अधिकारहरूलाई सुनिश्चित र प्रत्यायोजन गर्दै नागरिकहरूको सेवा सुविधा र समृद्ध नेपाल निर्माणको महान् अभियानमा लाग्न सबैलाई आग्रह गरे ।
प्रतिक्रिया