रामेछाप । देशभर जस्तै रामेछापमा पनि विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ संविधान तथा राष्ट्रिय दिवस मनाइएको छ । २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको हो ।
नेपालको संविधान २०७२ जारी भएको नौ वर्ष पुरा भएको सम्झनामा रामेछाप जिल्लामा गएको भदौ ३१ गते देखिनै विभिन्न कार्यक्रमहरू सञ्चालन भएका थिए । बिहीबार संविधान दिवस मूल समारोह समिति रामेछापको आयोजनामा सदरमुकाम मन्थली बजारमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।
Advertisement
प्रभातफेरी कार्यक्रममा बागमती प्रदेश सांसद एवं पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठ लगायत स्थानीय सरकार, राजनीतिक दल, सरकारी कार्यालय, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रभातफेरी पश्चात् जिल्ला समन्वय समितिको प्राङ्गणमा विशेष समारोहको आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रमको समापन गरिएको छ । संविधान दिवस मूल समारोह समिति रामेछापकी संयोजक तथा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का अध्यक्षता र बागमती प्रदेश प्रदेश सांसद आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा समापन समारोह भएको हो । यस्तै जिल्लामा रहेका पालिकाहरुले पनि विभिन्न रचनात्मक कार्यक्रमहरुको आयोजना गरी हर्षोल्लासका साथ संविधान तथा राष्ट्रिय दिवस मनाएका छन् ।
संविधान कार्यान्वयन पक्ष फितलो
संविधान नेपालको मूल कानून हो । तर यसको कार्यान्वयन पक्ष फितलो भएको भन्दै प्रश्न उठ्न थालेका छन् । संविधान जारी भएपछि देशमा विकास र समृद्धि आउने आशा र अपेक्षा गरिए पनि त्यसअनुसारको काम हुन सकेको छैन । राजनीतिक प्रणाली फेरिए पनि शासकको प्रवृत्ति फेरिन नसकेको भन्दै नागरिक निराश छन् । संविधानले दिएको निःशुल्क शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, खाद्य सम्प्रभुत्ता, आवासलगायत दर्जनौं आधारभूत हकहरूको अनभूति आमनागरिकले गर्न पाएका छैनन् । मौलिक हकका धारा संविधानमा मात्रै सीमित भएको छ ।
Advertisement
प्रतिक्रिया