रामेछाप । रामेछाप जिल्लाका स्थानीय तहमा भ्रष्टाचारजन्य गतिविधिहरू बढ्दै गएको देखिएको छ । जिल्लामा रहेका दुई वटा नगरपालिका र ६ वटा गाउँपालिकामा गरी ३६ वटा उजुरी अख्तियार परेका छन् ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा जिम्मेवारी सरेर आएका केही लगायत चालु आर्थिक वर्ष २०८१÷०८२ को साउन र भदौ महिनामा गरी ३६ वटा भ्रष्टाचार जन्य उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा परेका छन् ।
शनिवार मन्थली नगरपालिकाको सहकार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयक स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रममा यसबारेमा जानकारी गराइएको हो ।
Advertisement
चालु आर्थिक वर्षको साउन, भदौ र गत वर्षको जिम्मेवारी सरेर आएका सहित रामेछापका आठ वटा स्थानीय तहमा गरी हालसम्म ३६ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी तुलसीराम पौडेलले बताउनुभयो ।
उहाँका अनुसार सबै भन्दा बढी खाँडादेवी गाउँपालिकामा १२ वटा उजुरीहरू परेका छन् । जसमध्ये अहिलेसम्म दुई वटा उजुरी फर्छ्यौट भएका छन् । यस्तै दोरम्बा शैलुङ गाउँपालिकामा ११ वटा उजुरी परेकोमा ११ वटै फर्छ्यौट हुन बाकी छ । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा पाँच वटा उजुरी परेकोमा अहिलेसम्म एउटा मात्रै फर्छ्यौट भएको छ ।
रामेछाप नगरपालिकामा दुई वटा, उमाकुण्ड गाउँपालिकामा एउटा, गोकुलगंगा गाउँपालिकामा एउटा, सुनापति गाउँपालिकामा दुई वटा र लिखुतामाकोशी गाउँपालिकामा दुई वटा भ्रष्टाचारजन्य उजुरी परेकामा सबै उजुरीको फर्छ्यौट हुन बाकी छ ।
उपसचिव पौडेलले यसरी अख्तियारमा परेका उजुरीहरूलाई हेर्दा सबै भन्दा बढी सार्वजनिक खरिद र निर्माणसँग जोडिएका उजुरी छन् । त्यसै गरी सुशासन कार्य, तालिम तथा क्षमता विकास, सेवा प्रवाह, सार्वजनिक जग्गा संरक्षण सम्बन्धी, विद्यालय क्षेत्र, विषयगत क्षेत्र, सामाजिक सुरक्षा भत्ता, राजश्व चुहावट र वडाले लिने सेवा शुल्क लगायतसँग जोडिएका उजुरी परेका उहाँले बताउनुभयो ।
Advertisement
देखेर पनि नदेखे झैँ गर्ने, लुक्ने र लुकाउने अनि बिचौलियाहरूका कारण भ्रष्टाचारका उजुरीहरू बढिरहेको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो । तीन तहको सरकारमध्ये सबै भन्दा बढी आरोप प्रत्यारोप र जिम्मेवारी सहित भएका कमिकमजोरीहरुलाई सुधार गरी सुशासन प्रवर्द्धनका लागि स्थानीय सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले स्थानीय सरकारको कामलाई लिएर अख्तियारमा पर्ने झुटा उजुरीहरूका कारण धेरै समस्या पैदा भएको गुनासो गर्नुभयो ।
प्रतिक्रिया