रामेछाप । रामेछापमा डबल क्यापको बोलेरो दुर्घटना हुँदा एक जना महिला वडा सदस्यको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन् । सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका–४ सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेर गाडी मन्थली नगरपालिका–५ सुनारपानी स्थित भदौरे डाँडा मोडमा आइतबार दिउँसो १ बजे दुर्घटना हुँदा मन्थली नगरपालिका–४ सालुकी वडा सदस्य ६० वर्षीय पदममाया नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुर्घटनामा परी मन्थली नगरपालिका–४ सालुकी ३४ वर्षीय सीता नेपाली, २५ वर्षीय सुजिता रसाइली, ६९ वर्षीय दिलीप कुमार बरुवाल, बोलेरो चालक ४२ वर्षका गुणकुमार थापामगर, २५ वर्षीय सरिता नेपाली र ५ महिनाको बालिका रोनिसा नेपाली घाइते भएका छन् । घाइते मध्ये चालक गुणकुमार थापामगर र दिलीप कुमार बरुवालको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । मन्थलीबाट ७ जना मानिस लिएर सालु गएको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीको भनाइ छ । मृतक वडा सदस्य नेपाली गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका २ जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ भने ४ जना घाइतेहरूको सदरमुकाम मन्थली स्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । मृतक वडा सदस्य नेपालीको शव मन्थली अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया