रामेछाप । नेपालीहरूको ठुला पर्वहरू दसैँ, तिहार नजिकिएसँगै रामेछापको उमाकुण्ड गाउँपालिकामा सडक मर्मत तथा सरसफाइको काम सुरु भएको छ । उमाकुण्ड गाउँपालिकाका जनप्रतिनिधिहरू अहिले गाउँ जाने सडक सहज बनाउने काममा जुटेका छन् ।
वर्षाको कारण क्षति भएका सडकहरूमा दसैँ आएसँगै सरसफाइ तथा मर्मतका काम सुरु भएका छन् । उमाकुण्ड गाउँपालिकामा अधिकांश कच्ची सडकहरू वर्षाको कारण क्षतिग्रस्त भएका छन् । ठाउँ ठाउँमा पहिरो झरेर सडकहरू अवरुद्ध समेत भएका छन् । ती सडकमा दसैँको बेला सहज रूपमा यातायात साधन चल्न सक्ने बनाउन जनप्रतिनिधिहरू लागेका छन् ।
Advertisement
उमाकुण्ड गाउँपालिकाको सडक मर्मत तथा सरसफाइको काममा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार आफैँ जुट्नु भएको छ । अध्यक्ष सुनुवार लोडर मेसिन लिएर सडक मर्मतमा आफैँ निस्कनु भएको छ । दसैँ अघि सडक मर्मत गरिसक्ने गरी काम अघि बढाइएको गाउँपालिका अध्यक्ष सुनुवारले बताउनुभयो । रामेछाप जिल्लाको सबैभन्दा बिकट भूगोल भएको सो गाउँपालिको मध्यमार्गी सडक तथा वडाहरूमा जाने शाखा सडकहरू मर्मत तथा सरसफाइको काम सुरु गरिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया