दसैँको चहल पहल सुरु हुँदै छ । परदेशी आफ्नो गाउँ घर फर्कने क्रम सुरु भईसक्यो । दसैँ सुन्ने बित्तिकै पनि खुसी नहुने सायदै को होला र ? दसैँको धार्मिक रूपमा आफ्नो छुट्टै मान्यता छ । तर अहिले दसैँ आफ्नाहरू जमघट र भेटघाट हुने गतिलो माध्यम पनि बनेको छ ।
वर्षमा एक पटक यस्ता चाडपर्व आउदैनन थिए होला त आफ्नाहरूसङ्गको भेट पनि सायद बिरलै हुन्थ्यो होला । परदेश गएको छोरा थोरै भए पनि आफ्नो परिवारको लागि कोसेली लिएर घर फर्कँदै छ । कोसेली भन्दा हजारौँ गुणा मीठो त त्यो लामो समय पछिको भेट हुन्छ । सानो बच्चालाई तिमीलाई कहाँ जाँदा धेरै खुसी लाग्छ ? भनेर सोध्यो भने उसको पहिलो जवाफ हुन्छ “मामाघर“ । बचपनमा मामा घर जति प्यारो र आनन्द लाग्ने ठाउँ अन्त कहीँ पनि हुँदैन । यसको मतलब ठुलो भएपछि मामाघर प्यारो लाग्दैन भनेको चाहिँ हैन ।
Advertisement
त्यो एउटा समय हुँदो रहेछ मामा घरको सानो कोठामा सबै खुसीहरू भेटिन्थे ।अहिले सन्सार भरी खोज्दा नि खुसी भेटाउन मुस्किल हुन्छ । खुसी हुनलाई त्यो बेला अरू केही गर्न पर्दैन थियो मामा घर जाने दिन गन्दै बस्दा पनि बेहद खुसी मिल्थ्यो । त्यो बालापन ! त्यो समय आहा! साँच्चिकै कति मिठो थियो। कति प्यारो थियो ।
एउटा सानो कुरा देख्दा पनि त्यसैलाई हेरेर घन्टौँ खुसी भइन्थ्यो । तर अहिले एउटा यस्तो समय छ जहाँ खुसी हुनुपर्ने कुराहरूमा पनि खुसी हुन सकिँदैन । बचपनमा खुसीहरू स्थायी थिए अनि दुःख पीडा पाहुना बनेर कहिले काहीँ मात्र झुल्किन्थे। तर अहिले समय यस्तो भएको छ जहाँ दुःख पीडा साथी जस्तै भएर बसेका छन् अनि खुसी पाहुना । तपाईँ बितेको एउटा कुरा माग्नुस् जुन पूरा हुन्छ भन्यो भने धेरैले भन्नु हुन्थ्यो होला म मेरो बालापन फिर्ता ल्याउन चाहन्छु । बचपनमा यस्ता सम्बन्ध हुन्थे जुन छिन भरमै कट्टी हुन्थे अनि छिन भरमै आफ्नो ।
बेपरवाह चलिरहन्थे यस्ता सम्बन्धहरू । बचपनमा मामा घर यति प्रिय लाग्छ नि अझै पनि त्यी मामा घर जाँदा हिँडेका बाटो हिड्दा पनि मनमा छुट्टै आनन्द र खुसी मिल्छ। बच्चाहरू वर्तमान लाई लिएर खुसी हुँदा रैछन अनि उमेर बढे सङ्गै अतीत र भविष्य लाई लिएर चिन्ता गर्दो रैछ मान्छे । हामी बर्तमानमा रहेर जिउन जान्दा रहेनछौँ । हामीलाई भूत र भविष्यले बढी पिरोल्दो रहेछ । वर्तमान लाई लिएर जिउन सकियो भने केही हद सम्म खुसी हुन सकिन्छ । कुनै चिज नपाउँदा त्यो चिज पाए त म कति खुसी हुन्थे जस्तो लाग्छ तर त्यो चिज पाए पछि मनमा अर्को चाहना आउँछ अनि पाएको कुरालाई बेवास्ता गर्छ मान्छे ।
Advertisement
हो आज पनि कतिपय सम्बन्ध अनि सामान पाए पछि बेवास्ता हुने गरेका छन् । कुनै पनि कुराको महत्त्व बुझ्न त्यसलाई एक चोटि गुमाएको हुनु पर्छ । हामी सम्बन्ध नामको ताल्चाहरूमा खुसी को चाबी चाहिँ अरूको हातमा राखिदिन्छौँ । अनि यता उता खुसी खोज्दै भौँतारिन्छौँ । छट्पटाउछौँ अनि नभेटिए पछि झन् धेरै दुखी हुन्छौँ । उमेर र जिम्मेवारी बढे सङ्गै खुसीले पनि बिस्तारै डाँडा काट्न खोज्ने रहेछ । तपाईँको खुसीको चाबी अरूको हातमा हुनु हुँदैन ।
प्रतिक्रिया