रामेछाप । आइतबार मात्रै जिम्मेवारी सम्हाल्नु भएका रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले जिल्लाको शान्ति सुरक्षा सहित विभिन्न चार वटा विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।
रामेछापको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेपछि पहिलो पटक सोमबार जिल्लाका पत्रकारहरूसँग परिचयात्मक कार्यक्रमको आयोजना गरी प्रजिअ पौडेलले यस्तो बताउनुभएको हो । उहाँले रामेछापमा पहिला पनि सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेर काम गरिसकेको भन्दै विभिन्न ४ वटा विषयलाई प्राथमिकतामा राखेर काम गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।
उहाँले जिल्लामा शान्ति, सुरक्षा र अमन चयन कायम, सेवा प्रवाह र सुशासन, विकासमा सहजिकरण र विपद् व्यवस्थापनका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
Advertisement
आफूले प्राथमिकतामा राखेका यी ४ वटा विषयसँग धेरै विषयहरू जोडिएर आउने र यस बाहेकका क्षेत्रमा पनि विशेष सुधारका लागि काम गर्ने उहाँले बताउनुभयो । जिल्ला स्थित राजनीतिक दल, स्थानीय सरकार, पत्रकार, नागरिक समाज, रामेछाप उद्योग वाणिज्य सङ्घ लगायतका सरोकारवाला निकायहरूसँग आवश्यक सुझाव सल्लाह लिएर अगाडी बढ्ने उहाँले बताउनुभयो ।
जिल्लामा देखिएका समस्याहरूको समाधान गर्ने र राम्रो काम भइरहेका भनिएका क्षेत्रको कामलाई अझै राम्रो र प्रभावकारी बनाउने गरी काम गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा सहभागी पत्रकारहरूले जिल्लामा देखिएका समस्याहरूका बारेमा सुझावहरू दिएका थिए ।
प्रतिक्रिया