रामेछापका १४१ घर परिवार पहिरो पीडितलाई लायन्स क्लब इन्टरनेशनलले दियो राहत

रामेछाप । मानवीय सेवा गर्ने अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेशनलले रामेछाप जिल्लाका विभिन्न स्थानका पहिरो पीडितहरूलाई राहत सामाग्री प्रदान गरेको छ ।

रामेछाप उद्योग वाणिज्य सङ्घको विशेष पहलमा संस्थाले सोमबार जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं १ डडुवा, वडा नं ३ टोकरपुर लेखर्क स्थित पहरी गाउँका पहिरो पीडितलाई राहत सामाग्री वितरण गरेको छ ।

Advertisement

संस्थाको टोलीले दोरम्बा शैलुङ गाउँपालिकाको कार्यालय टोकरपुरमा पुगेर गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तान लगायतका जनप्रतिनिधिहरूको रोहबरमा पहिरो पीडितलाई राहत सामाग्री प्रदान गरेको छ ।
दोरम्बा शैलुङ गाउँपालिकाका पहिरो पीडित परिवारलाई खाद्यान्न, ओढ्ने ओछ्याउने कपडा, पकाउने, खाने भाँडाकुँडा लगायतका राहत सामाग्रीहरू प्रदान गरिएको लायन्स क्लब इन्टरनेशनल रामेछापका पूर्व अध्यक्ष शम्भुप्रसाद घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो “रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा न. १ डडुवा र वडा नं ३ टोकरपुरमा धेरै परिवार विस्थापित भएका छन् । पहिरोमा पुरिएर मानिसहरूको ज्यान पनि गएको छ । केही मानिस अहिलेसम्म भेटिएका छैनन् । लायन्स क्लब इन्टरनेशनल मानवीय सेवा गर्ने अन्तर्राष्ट्रिय संस्था हो । त्यसैले यहाँका पहिरो पीडितलाई केही सहज होस भन्ने उद्देश्यले मानवीय सेवाको भावनाले राहत सामाग्रीहरू प्रदान गरिएको छ ।”

Advertisement

उहाँले दोरम्बा शैलुङ गाउँपालिका, गोकुलगंगा गाउँपालिका–६ फर्पु र लिखुतामाकोशी गाउँपालिकाको गरी १४१ घर परिवार पहिरो पीडितका लागि १५ लाख रुपैयाँ भन्दा बढी रकमको राहत सामाग्री ल्याइएको बताउनुभयो । सोमबार दोरम्बा शैलुङ गाउँपालिकाका पहिरो पीडितलाई राहत प्रदान गरिएको र अबको ४ दिनभित्र गोकुलगंगा गाउँपालिका–६ फर्पु र लिखुतामाकोशी गाउँपालिकाका पहिरो पीडितलाई पनि राहत प्रदान गरिसक्ने उहाँले बताउनुभयो ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर लेखर्क पहरी गाउँमा गत भदौ ९ गते बिहानीपख अविरल वर्षासँगै गएको पहिरोमा ११ जना पुरिएका थिए । पुरिएका मध्ये एक जनाको जीवितै उद्धार गरिएको थियो । हराएका मध्ये हालसम्म ७ जनाको शव भेटिएको छ भने एक जनाको खुट्टाको पाइताला मात्रै भेटिएको छ। दुई जना अझै बेपत्ता छन् । पहिरोका कारण पहरी गाउँका ६५ परिवार विस्थापित भएका छन् । भदौ ९ गते रातिकै वर्षापछि गाउनै पहिरोको जोखिममा परेपछि दोरम्बा शैलुङ गाउँपालिका–१ डुडुवाका विभिन्न ठाउँका ४३ परिवार अहिले त्रिपालमुनि बसिरहेका छन् ।

Advertisement

यस्तै गत साउन १० गते साँझ गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोले घर भत्काउँदा एउटै घरमा तीन जना किशोरीको ज्यान गएको थियो । लिखुतामाकोशी गाउँपालिकाको पनि यो वर्षको वर्षामा विभिन्न ठाउँमा पहिरोका कारण केही घरपरिवार विस्थापित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च